जनकपुरमा धुलोसँग जोगिन ‘साडीले मुख छोपेर हिँड्नुपर्छ’

उपमहानगरपालिकाले बाटो बनाउन थालेपछि धुलाम्‍मे सडकमा मुख छोपेर गन्तव्‍यमा जाँदै स्थानीयहरु। तस्बिर- प्रतिभा झा/देश सञ्‍चार

जनकपुरधाम- ‘गर्मीको मौसम, त्‍यसमाथि धुलाम्‍मे सडक अनि  बीच बीचमा खाल्डाखुल्डी।  स्थानीयहरु कोही मुखमा मास्क लगाउन बाध्‍य छन् भने कोही महिला लगाएको साडीले मुख छोपेर हिड्‍नु परिरहेको छ।’ किनकि मौसम परिवर्तन भएसँगै चलेको हावाहुरी र बन्दै गरेको सडकले जनकपुर धुलाम्मे भएको छ।

जनकपुरमा एडिबी परियोजना र एकीकृत शहरी विकास आयोजना अन्तर्गत सडक निर्माण भइरहेकाले जताततै बाटो खनिँदा दिनहुँ आवतजावत गर्नेलाई समस्या भएको छ।

विज्ञापन

साथै, सुख्खा मौसमले गर्दा उड्ने गरेको धुलोले यहाँको जनजिवन अस्तव्यस्त बनेको छ। जताततै धुलो नै धुलोहुँदा बाटोमा गुड्ने सबारीसाधनले जनकपुरको सडक दिनमै अंध्यारो हुने गरेको देखिएको छ।

यस्तै, स्थानीयवासिन्दाहरु प्रत्येक दिन मास्क लगाएर हिडे पनि आवतजावत गर्दा साँसफेर्न गाह्रो हुने गरेको भन्छन्।

खासगरी जनकपुरको रिंगरोडमा पर्ने मिल्सएरिया, भानुचोक, कदमचोक, विश्वकर्माचोक र जिरोमाईलमा बसोबास गर्नेहरुले धुलोले निकै समस्या हुने गरेको बताउँछन्।

यस्तै,जनकपुरको माछाबजार र जनकपुर भित्र पर्ने शिवचोक, स्टेशन एरिया र पुलचोकमा दिउँसो गाडीको चाप रहेको बेला हिड्न गाह्रो भएको देखिएको छ।

धुलोधुवाँले विरामी बढे

मौसम परिवर्तनसँगै उड्ने धुलोधुवाँले विरामीको संख्या पनि बढेको छ। जनकपुर अंचल अस्पतालमा दिनहुँ ४ सय देखि ६ सयको हाराहारीमा विरामी आउने गरेको सुपरिटेन्डेन्ट रामपरिक्षण यादवले बताउँछन्।

पाँच सयको हाराहारीमा ओपीडीमा र लगभग एक सयको संख्यामा इमरजेन्सीमा विरामी आउने गरेको उनले बताए। उनले भने, ‘विरामीहरुमध्ये अधिंकाश धुलोको असरले रुघाखोकी र साँस फुल्ने जस्ता समस्या लिएर स्थानीयहरु आउने गरेका छन्। उनीहरुको समस्या विशेषगरी धुलोको कारण देखाउँछ।’

उनले सडकको धुलोले दम, खोकी तथा क्षयरोग जस्ता रोग लाग्ने सम्भावना बढ्‍दै गउको छ।

विहीवारदेखि सडकमा पानी छर्किने काम सुरु

धुलोले गर्दा स्थानीय स्वास्थ्यमा समस्यामा देखिएपछि जनकपुर उपमहानगरपालिकाले विहीबाररदेखि सडकमा पानी छर्कन सुरु गरेको छ ।
उपमहानगरपालिकाले विहिबार विहान र बेलुका गरी दुई समयमा बाटोमा पानी छर्कन सुरु गरेको उपमहानगरपालिका उप-मेयर रिता झाले बताइन्।

उनले भनिन्, ‘स्थानीय सरकारले धुलोबाट बच्‍न सडकमै पानी छर्कने काम थालिसकेको छ। यसले स्थानीयको स्वास्थ्‍यमा थप कम हानी पुर्‍याउन मद्दत गर्छ। सडकमा हिड्‍नेलाई राहत हुन्छ।’

चैत्र १० गतेबाट जनकपुरको भानुचोक देखि शिवचोकसम्मको बाटोलाई नगरपालिकाले फराकिलो बनाउन लागेको उपमेयर झाको भनाई छ।
उनले भनिन्, ‘ लगातार ३ बर्ष देखि जनकपुरको बाटोहरुलाई फराकिलो बनाउन लागेका छौ।बाटोमा पर्ने घरहरु भत्काएका छौ।

यस्तै उनले जनकपुरको मुटु मानिने भानुचोक र शिवचोकमा चैत्र १० गते देखि घर भत्काउन सुरु गरिने बताइन्।

चैत्र ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्