एसईई आजदेखि

खुट्टाले लेखेरै दिए सुरेशले परीक्षा

खुट्टाले एसईई दिँदै अपांगता भएका विद्यार्थी। तस्बिर: देशसञ्चार

नेपालगञ्ज– बाँकेमा एकजना विद्यार्थीले खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन्।

कुसुमेश्वर मावि, कुसुमका सुरेश कुमालले खुट्टाले लेखेर एसईई दिएका हुन्। कुमालको परीक्षा केन्द्र शिवशक्ति मावि, पेराडीमा थियो।

केन्द्रका प्रमुख झक्कु डाँगीका अनुसार, कुमालले सहयोगी राख्न सक्ने भएपनि आफैँले खुट्टाले लेखेको बताए।

‘खुट्टाले लेख्ने अभ्यास गरेका रहेछन्, सहयोगी राख्न सकिन्छ भन्दा पर्दैन भने, केन्द्राध्यक्ष डाँगीले भने, कुमालले खुट्टाले लेखेर पनि राम्ररी परीक्षा दिएका छन्।’

कुमालले करेन्ट लागेर दुवै हात गुमाएका छन्। उनले ५० मिनेट बढी समय लगाएर परीक्षा दिएका हुन्। अपाङ्गता भएका विद्यार्थीलाई बढीमा डेढ घण्टा समय थप्न सकिने व्यवस्था छ। केन्द्राध्यक्ष डाँगीका अनुसार यो केन्द्रमा १ सय ६९ विद्यार्थी रहेकोमा १ सय ६१ जनाले परीक्षा दिएका छन्।

एसईईको पहिलो दिन बाँकेमा चार सयभन्दा बढी विद्यार्थी अनुपस्थित भएका छन्।

सहायक जिल्ला शिक्षा अधिकारी गोरख थापाका अनुसार नियमिततर्फ ७ हजार २ सय ६३ जनाले परीक्षा दिएका छन्। नियमितमा २ सय ६ जना विद्यार्थी परीक्षा दिन आएनन्।

त्यस्तै, एक्जाम्टेडतर्फ ४ सय २३ जनाले परीक्षा दिएका छन्। एक्जाम्टेडमा ५ सय २६ जनाले फाराम भरेका थिए।

पहिलो दिनको अंग्रेजी परीक्षा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

चैत ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्