कोरियन भाषा परीक्षा फारम भर्न युवाहरुको लाइन

‘नेताहरु पेट भर्न लागिसके, म त जान्छु कोरिया, नेपालमा बस्दिनँ’

काठमाडौं- अन्दाजी २०/२० वर्षका दुई युवा ट्‍याम्पुमा गफ गर्दै थिए, ‘यार कोरियन भाषाको तयारी कस्तो छ?’

उत्तर दियो, ‘ठीकै छ, यसपालि पनि फारम भर्दैछु। पास भएमा कोरिया जाने सपना पूरा हुन्छ।’

उसले सोध्‍यो, ‘अनि तिम्रो कस्तो छ नि तयारी?’

जवाफमा उसले भन्‍यो,’ यार मेरो त यसपालि नाम आएन भने सबै सपना चकनाचुर हुन्छ।’

ट्‍याम्पू आफ्‍नै रफ्तारमा गुडिरहेको थियो। बानेश्‍वर हुँदै थापागाउँ, बिजुलीबजार, भाटभटेनी हनुमानस्थान आइपुग्‍दा दुईमध्‍ये चश्‍मा र चेक सर्ट लगाएकाले मतिर हेर्दै सोध्‍यो, ‘एक्सक्‍युजमी दाइ, अनामनगर आइपुग्‍न अब कति समय लाग्छ?’

मैले भने, ‘अब एक/दुई मिनेट लाग्छ। किन र?’

उसले भन्‍यो, ‘त्‍यहाँ ग्लोबल आइएमई बैंकमा पुग्‍नु छ। कोरियन भाषा परीक्षाको फारम भर्नुपर्नेछ।’

नभन्‍दै ट्‍याम्पु मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारको पूर्वी गेट हुँदै त्‍यही रहेको ग्लोबल आइएमई बैंकनेर रोकियो। उनीहरु ट्‍याम्पुबाट ओर्लिए। म अनामनगर जानुपर्ने भएकाले ओर्लिएँ र उनीहरुसँगै सडकको जेब्राक्रस पार गरेँ।

त्यसपछि मेरो आँखा सीधा ठोक्कियो त्‍यो भीडसँग जहाँ १८ देखि २५ उमेर समूहका युवाहरु हातमा भौचर बोकेर लाइनमा बसेका थिए। कोही मोबाइलमा व्‍यस्त देखिन्थे भने कोही फेसबुक चलाइरहेका थिए।

मैले मसँगैका युवाको बारेमा बुझ्‍न खोजे र सोधेँ, ‘तपाईँहरुको बारेमा केही कुरा गर्न मिल्छ?’

उसले भन्‍यो, ‘मिल्छ, भै हाल्छ नि ?’

‘तपाईँको नाम?’ मैले सोधेँ।

‘प्रितेश राई’।

‘घर कहाँ नि?’ मैले सोधेँ।

उसले भन्‍यो, ‘पूर्वी नेपाल।’

‘पूर्वी नेपाल कहाँ नि?’ मैले फेरि सोधे।

‘भोजपुर, लेखर्क ट्याम्केमैयुङ गाउँपालिका,’ उसले भन्‍यो।

‘पहिलो पटक कोरियन भाषा परीक्षा दिन लाग्‍नुभएको हो र?’ जिज्ञासा राख्दै सोधेँ।

उसले जवाफ दियो, ‘होइन,यो अन्तिमपटक हो। यसपालि पास भइनँ भने त मेरो कोरिया जाने सपना डुब्छ।’

मैले सोधे, ‘किन नि यहीँ काम गर्न सकिँदैन र?’

उसले निन्‍याउरो मुख लगाएर भन्‍यो, ‘के गर्नु दाइ, घरको जग्‍गा बेचेर काठमाडौं आएको तीन वर्ष भइसक्यो। दुई पटक कोरियन भाषा परीक्षा दिए।नामै आएन। अनि काम खोजेँ। सुरुमा काम पाउनै गाह्रो भो। पछि पाएँ तर त्‍यहाँ राजनीतिक सोर्सफोर्स लगाउनु पर्ने भन्‍यो। मैले काम खोज्‍नै छाडिदिएँ।’

त्यतिकैमा अर्को साथीले पनि आफ्नो कुरा फुकायो। उसले भन्‍यो, ‘मेरो नाम प्रविन याक्थुम हो। मेरो घर धरान बजार हो। पहिला धरानमै कोरियन भाषा पढेँ। भाषा परीक्षा दिएँ। तर मेरो पनि नाम निस्किएन। अनि काठमाडौं आएर एउटा बोर्डिङ स्कूलमा पढाउने काम गरेँ र कोरियन भाषालाई पनि सँगै तयारी गरेँ।’

उसले आफ्नो दु:ख सुनाउँदै भन्‍यो, ‘तर यहाँका स्कुलले साह्रै कम ‘स्यालरी’ दियो। त्‍यसले काठमाडौंमा बाँच्‍नै गाह्रो भयो। त्‍यसकारण मैले अस्ति फागुनमै पठाउन छाडिदिएँ।’

उसले कोरियन भाषाको किताब देखाउँदै भन्‍यो, ‘त्‍यसपछि मैले यही किताब रातदिन नभनी पढिरहेको छु।’

हामी कुरा गरिरहँदा अर्को तराई मुलका एक युवा भौचर लिएर हामीकहाँ आइपुगे र सोध्‍यो, ‘सर यो फारम भरेको ठीक भयो कि भएन हेर्दिनुस् न?’

प्रविनले उसको भौचरको फारम भरिदिए। मैले उनीसँग तराईकै भाषामा कुरा गर्न थाले।

‘यहाँके नाम कथि चियै ? (तपाईको नाम के हो?)’ मैले सोधेँ।

उसले भन्‍यो, ‘सन्तोष यादव।’

‘यहाँके घर कत भ्‍याल? (तपाईको घर कहाँ हो?)’

उसले मेरो मुखतिर हेरेर भन्‍यो, ‘सिरहा लाहान। यौहेकै वैमहरे छै की कथि? फारम भरे यलचियै?’

मैले भनेँ, ‘नै (होइन)। म फारम भर्न आएको होइन।’

उसले निराश भावमा भन्‍यो, ‘कि करैबै यौ। बालबच्चा घरमे छै। बाबुमैया बुरहारीमे छै। तीनटा बहिन छै। सबै बहिनके बियाह करैले बाँकी ये छै। ढौवा कमाबैले हमहीटा चियै। (के गर्नु सर।सानासानो नानीहरु छ।मेरो घरमा तीन वटा बहिनी छिन्। सबैको विवाह गर्नु बाँकी नै छ। तर पैसा कमाउने म मात्रै छु।)

मैले उसलाई भनेँ, ‘आब गाममे स्थानीय सरकार येलै। आब निक है तै ने त। (अब गाउँमै स्थानीय सरकार आयो। राम्रो होला नि त।)’

उसले भन्‍यो, ‘यी राजनीतिक दलके विश्‍वास कैनाइ या नै कैनाइ बराबर छै। सब पैसा खियाके भोट लेनेछै। कनङके विकास करतै ? सब आपन आपन पेट भोरैछै अखैनियेसे। तब हम जनतासबके देखैले मुस्किल छै। तैदुवारे हम त ज्‍याब आब कोरिये। नै रहब नेपालमे। ( यो राजनीतिक दलको कुनै विश्‍वास गर्नु न गर्नु बराबरी हो। किनकि सबैले पैसा खाएर भोट जितेका हुन्। यिनीहरु अहिलेदेखि नै आफ्‍नो पेट भर्नतिर लागिसकेका छन्। हामी जनतालाई कहाँबाट हेर्नु। त्‍यसकारण म त अब जान्छु कोरिया। नेपालमा बस्दिनँ।)

उसले प्रविनसँग आफ्नो फारम लियो र हिँड्यो भीडमा लाइन लाग्‍न। ती दुई युवा पनि लाइनमा मिसिए। त्‍यो लाइन विस्तारै विस्तारै बढ्दै गइरहेको थियो।

मेरो मोबाइलको घन्टीमा चार मिस कल आइसकेको थियो। म पनि हिँडे दाजुको डेरातिर।

चैत ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्