ट्रम्पका वकिलले दिए राजीनामा

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा भएको भनिएको रुसी दखलका बारेमा भइरहेको अनुसन्धानको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रहेका वकिल जोन डाउडले राजीनामा दिएका छन् ।

ट्रम्पले आफ्नो सल्लाह नजरअन्दाज गरेको भन्दै डाउडले राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस्तै केहीले भने ट्रम्पको डाउडमाथिको विश्वास कमजोर बनेको पनि बताएका छन् ।

डाउड रुसी संलग्नता सम्बन्धी मुद्दाको अनुसन्धान गरिरहेका रोबर्ट म्युलरसँग टक्कर दिन सक्ने खालको नरहेको ट्रम्पको ठम्याइरहेको दाबी पनि गरिएको छ ।

तर ७७ वर्षका डाउडले राजीनामा सम्बन्धी जानकारी दिन सञ्चारमाध्यमलाई पठाएको पत्रमा आफूलाई राष्ट्रपति मन पर्ने र उनलाई सफलताको शुभकामना रहेको पनि बताएका छन् ।

विशेष काउन्सिल रोबर्ट म्युलरको नेतृत्वमा अहिले अमेरिकी राष्ट्रपति चुनावको क्रममा ट्रम्पको चुनावी अभियानका सदस्य र रुसबिच सम्बन्ध रहे नरहेको बारे अनुसन्धान भइरहेको छ । आरोप यो छ कि, रुसले अमेरिकी चुनावमा ट्रम्पलाई सहयोग गर्ने गरी दखल दिएको थियो ।

अझ फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी गरी ट्रम्पको पक्षमा राजनीतिक वातावरण तयार गर्न प्रयोग गरिएको भन्ने कुरा बाहिर आएपछि अनुसन्धानको महत्व झन बढेको छ ।

यसैगरी राष्ट्रपति ट्रम्पले भइरहेको जाँचमा अवरोध सिर्जना गरेको कुरा आएकाले यसबारेमा पनि अनुसन्धान भइरहेको छ । गएको हप्ता डाउडले म्युलरको नेतृत्वमा भइरहेको अनुसन्धान बन्द गर्नु पर्ने बताएका थिए ।

पहिला उनले राष्ट्रपतिको तर्फबाट अनुसन्धान बन्द गर्न माग गरेको बताएका थिए । तर पछि सच्याएर त्यो माग आफ्नो व्यक्तिगत रहेको बताएका थिए ।

ट्रम्पले अब नयाँ वकिल राख्नु पर्ने भएको छ ।

चैत ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्