पोखरा लेकसाइडमा आजबाट ‘नो भेइकल जोन’ लागू गरिने

पोखरा । फाइल तस्बिर

कास्की- पर्यटकीय शहर पोखराको लेकसाइड सवारी आवागमन बढेर साँघुरो बन्दै गएपछि ‘नो भेइकल जोन’ बनाइने भएको छ।

लेकसाइडमा सवारी चापले हिडडुलमा समस्या र वातावरण प्रदुषण बढेको गुनासो बढेपछि साताको दुई दिन सवारी प्रवेशमा रोक लगाउने तयारी भएको हो।

सरोकारवाला, सर्वदलीय र सर्वपक्षीय भेलाले तत्कालका लागि शुक्रबार र शनिबार बेलुकी लेकसाइडलाई ‘नो भेइकल जोन’ बनाउने निर्णय गरेको हो।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ६ शुक्रबार र शनिबार बेलुकी देखि लेकसाइडको एक किलोमिटर क्षेत्रमा कुनैपनि सवारी चलाउन पाइने छैन ।

शुक्रबारबाट लागू हुने उक्त ‘नो भेइकल जोन’ प्रत्येक हप्ता साझँ ५ बजे देखि सुरु हुनेछ।लेकसाइडको हल्लनचोकदेखि बाराहीघाटसम्म करिब १ किलोमिटर दुरीमा सवारी प्रवेश रोक लगाउने तयारी गरेको हो।

पहिलो चरणमा बेलुकी पाँच बजेपछि दुईदिन नै नो भेइकल जोन बनाउने हो। नो भेइकल जोन बनाएको दिन राति अबेरसम्म पनि सवारी चलाउन पाइने छैन।’ पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले बताए।

५ वर्ष पहिले पनि पोखराको लेकसाइडलाई ७ महिना सम्म शुत्रबार नोभेइकल जोनका रुपमा सञ्चालन गरिएको थियो। तर पार्किङ लगायत व्यवस्थापकिय कठिनाईका कारणले निरन्तरता पाउने सकेको थिएन।

पार्किङको व्यवस्था, होटल रेस्टुरेन्टमा सामान ल्याउन र स्थानीयका सवारी साधनलाई पासको व्यवस्था गरेर सातै दिनलाई नो भेइकल जोन बनाउनु पर्ने व्यवसायीको भनाई छ।

चैत ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्