सडक निर्माणका मापदण्डमा उपमहानगरले भेदभाव गरेको आरोप

जनकपुरधाम- सडक निर्माण कार्यको मापदण्ड अपनाउन जनकपुर उपमहानगरपालिका कार्यालयमाथि  भेदभावको साथ अगाडि बढिरहेको आरोप लागेको छ।

एडिबीको ऋण सहयोगमा सञ्चालित आयोजना अन्तर्गत निर्माण भइरहेको सडक तथा नाला निर्माणका लागि उपमहानगरपालिकाले फरक फरक मापदण्ड प्रयोग गरेको स्थानीयहरुले आरोप लगाएका छन्।

विज्ञापन

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजना अन्तर्गतको निर्माण कार्य पुरा गर्न मापदण्ड अनुसार सीमांकन गरिएको घरपर्खाल भत्काउन उपमहानगरपालिकाले सम्बन्धित वार्डहरुमा सूचना पहिला नै जारी गरिसकेको छ। सडक निर्माणका लागि निर्धारण गरिएको मापदण्ड अनुसार जग्गा उपलब्ध नगराए उपमहानगरपालिकाले आफ्नो कारबाही अगाडि बढाउने समेत सूचनामा उल्लेख छ।

तर, अहिले जारी रहेको उक्त सडक निर्माण कार्यको मापदण्ड अपनाउनमा उपमहानगरपालिका कार्यालयले नै भेदभावको साथ अगाडि बढिरहेको आरोप खेपिरहेको छ।

निर्माण कार्य पूरा गर्न उपमहानगरपालिका र आयोजनाको कार्यालयबीच भएको सम्झौता अनुसार सडक तथा नाला निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउनु पर्ने छ। सडकको दुवै तर्फ २/२ मिटर जग्गा फुटपाथका लागि व्यवस्थापन गर्न मापदण्ड तयार गरिए पनि उपमहानगरपालिकाले भेदभाव गरिरहेको आरोप स्थानीयहरुको छ।

सडक तथा नाला निर्माणको मापदण्ड पूरा गर्न पहुँच र पैरवीलाई आधार बनाइएको युवा नेता राकेश विक्रम साह बताउँछन्।

पहुँचवालाको घरजग्गा बचाउने र साधारण व्यक्तिको घर भत्काउने काम भइरहेको उनको दाबी छ। निर्माणका लागि समान मापदण्ड अपनाउन सरोकारवाला निकायसँग उनले आग्रह समेत गरेका छन्।

धार्मिक आस्थासँग खेलवाड गरेको आरोप

उपमहानगरपालिकाले समान मापदण्ड अपनाउनमा भेदभाव गरेको भन्दै स्थानीय मुस्लिम समुदायहरुले समेत विरोध गरेका छन्।

उपमहानगरपालिकाको वार्ड नम्बर ७ जिरोमाइलस्थित कब्रिस्तानको पर्खाल भत्काउन वार्ड कार्यालयले पत्राचार गरेपछि उनीहरु विरोधमा उत्रिएका हुन्।

निर्माणको नाममा धार्मिक आस्थासँग खेलवाड गर्दै वार्ड कार्यालयले पत्र पठाएको स्थानीयहरुको भनाइ छ।

स्थानीय भन्छन्, ‘कब्रिस्तानमा हाम्रो पूर्वजको अन्त्येष्टि गरिएको छ। पत्र पठाएर वार्ड कार्यालयले आस्थासँग खेलवाड गरेको छ। निर्णयमा सुधार गरिएन भने हामी संघर्षमा जान्छौँ।’

सडक निर्माण क्रममा धार्मिक स्थलहरुको संरक्षण गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन्।

यता, आयोजना प्रमुख गंगाराम यादवले धार्मिक स्थलहरुको सवालमा सहमतिको आधार अनुसार काम अगाडि बढाइने बताएका छन्।

सहमति नभएको अवस्थामा सडक निर्माण भएपनि फुटपाथ नबनाइने यादवको कथन छ।

मापदण्ड पूरा गर्नमा भेदभाव गरिएको प्रश्नमा आयोजना प्रमुख यादवले सबैसँग समान व्यवहार गर्दै निर्माण कार्य पूरा हुने दाबी गरेका छन्।

सडक र फुटपाथका लागि मापदण्ड निर्धारण गरिएको भन्दै यादवले सबैसँग समान व्यवहार गरी निर्माण कार्य अगाडि बढाइरहेको बताए। यादवका अनुसार मापदण्डभित्र पर्ने भौतिक संरचना सडक निर्माण भए पनि तोडिने छ।

आयोजना अन्तर्गत ७० प्रतिशत कार्य पूरा

आयोजना अन्तर्गत परिक्रमा सडक, विमानस्थल चोक र रेलवे स्टेशन सडक खण्डमा १६ मीटर र कदम चोक–शिवचोक सडक खण्डमा १३ मिटर चौडाइको सडक निर्माण कार्य जारी छ।

आयोजना अन्तर्गत जनकपुर नगर क्षेत्र भित्र करिब १० किलोमिटर सडक र ३२ किलोमिटर नाला निर्माण गर्नु पर्ने छ।

फेब्रुअरी २०१७ सम्म निर्माण पूरा गर्ने समय सीमा दिइए पनि समयसीमा भित्र निर्माण कार्य पूरा नभएपछि जुन २०१८ सम्मको समयसीमा बढाइएको छ।

आयोजना अन्तर्गत ७० प्रतिशत कार्य पुरा भइसकेको कार्यालयले बताएको छ।

चैत्र ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्