तीन करोड त के, तीन पैसा पनि खाएको छैन– नेता भट्ट

माओवादी नेता लेख राज भट्ट पत्रकार सम्मेलनमा

धनगढी- नेकपा माओवादी केन्द्रका प्रदेश–७ इन्चार्ज लेखराज भट्टले कैलालीको हरैया शिविर प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । उनी तत्कालीन विद्रेही माओवादीका सेती महाकाली जनसरकार प्रमुख रहेकै बेला बसाइएको सुकुम्बासी बस्तीको जग्गा हालै किनबेच भएको छ ।

जग्गा बिक्रीमा माओवादी नेताहरुको संलग्नता देखिएको विषयमा माध्ययमा समाचार आएपछि नेता भट्टले त्यसको खण्डन गरेका हुन् । उनले हरैया शिविर उठाउन आफुले कसैसँग रकम नखाएको दाबी गरेका छन् ।

कैलालीका रणबहादुर शाहका नाममा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको जग्गा गत फागुनमा पोखराका व्यवसायीले किनेका हुन्। उक्त जग्गा कब्जा गरी माओवादी युद्धकालमा विभिन्न जिल्लाबाट आएका सुकुम्बासी बसेका थिए । उनीहरुलाई त्यहाँ बसाउन माओवादी नेताको प्रमुख भूमिका रहेको सुकुम्बासी बताउँछन् ।

माओवादीले कब्जा गरेर सुकुम्बासी बस्ती बसाएको सो जग्गा माओवादी नेता भट्टकै संलग्नतामा किनबेच भएको आरोप स्वयम् सुकुम्बासीले लगाएपछि भट्टले पत्रकार सम्मेलन गरी आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन् ।

सोही क्षेत्रबाट निर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बनेका लेखराज भट्टले आफ्नो सामाजिक प्रतिष्ठा धरापमा पार्ने उद्देश्यबाट प्रेरित भएर कसैले गलत प्रचार गरेको बताए ।

सुकुम्बासी बस्ति भएको हरैया शिविर

उनीमाथि हरैया शिविरबाट सुकुम्बासी बस्ती खाली गर्न ३ करोड रुपैयाँ लिएको आरोप लागेको थियो।

भट्टले ३ करोड त के, ३ पैसा पनि खाएको कसैले प्रमाणित गरे, राजनीति नै परित्याग गर्ने बताए।  उनले सुकुम्वासी वस्ती बसाउन र खाली गराउनमा आफ्नो कुनै सम्बन्ध नरहेको पनि बताए ।

हरैया शिविर प्रकरणमा पार्टीको कुनै कार्यकर्ता मुछिएको तथा गैरकानूनी काममा संलग्न भएको प्रमाणित भए तिनलाई पार्टीको नियम तथा मुलुकको प्रचलित कानून बमोजिम कारवाही गरिने भट्टले बताए ।

उनले जग्गा खरिद बिक्रिमा माओवादीका नेताहरु कालीबहादुर खाम र गौरी जोशीको नाम जोडिएको स्वीकार गरे ।

उनीहरु पार्टीका नेता कार्यकर्ता भएपनि उनीहरुले गर्ने कामको जिम्मेवारी आफूले लिन नसक्ने नेता भट्टले बताए।  ‘अरु नेता कार्यकर्ताले के गर्छन् भन्ने मलाई थाहा छैन तर कसैले राजनीतिक शक्ति दुरुपयोग गरी गलत काम गरेको भए कानून अनुसार कारवाही हुन्छ’,  भट्टले भने।

फरक प्रसङ्गमा नेता भट्टले मुलुक संघीयतामा गइसकेपछि जनताले तत्काल परिणाम खोजेपनि त्यस्तो वातावरण अझै सृजना नभएको स्वीकार गरे । प्रदेश सरकारले अझैपनि आवश्यक कानून निर्माण गरी नसकेकोले कामले गति लिन नसकेको प्रष्टिकरण दिए ।

शुरुवातका काममा केही ढिलाई भएपनि जनताको अपेक्षा पूरा हुने गरी सबै तहका सरकारले काम गर्नेमा ढुक्क हुन नेता भट्टले आग्रह गरे।

 

चैत ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्