बुफोन मैदान फर्किए, मेस्सी बिनाको अर्जेन्टिना विजयी, एस्तोरीको सम्झना

विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले स्टार खेलाडी लियोनल मेस्सी बिना पनि मैत्रीपूर्ण खेलमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनाले विश्वकपमा स्थान बनाउन नसकेको इटालीसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

यसमा मेस्सी बिनाको अर्जेन्टिनाले इटालीलाई २-० ले हरायो । यो खेलको सुरुमा मार्च ४ मा अप्रत्यासित रुपमा निधन भएका फियोरेन्टिनाका कप्तान तथा इटालीको राष्ट्रिय टिमबाट पनि खेलेका ३१ वर्षे डेविड एस्तोरीको सम्झनामा एक मिनेट मौनधारण भएको थियो ।

इटालीका सबै खेलाडीले एस्तोरीले लगाउने १३ नम्बरको जर्सी लगाएका थिए । म्यानचेस्टरमा भएको खेलमा एस्तोरीलाई सम्झना गरिएको हो । एस्तोरीलाई सम्झना गरिएको खेलमा इटाली भने पराजित भयो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा अर्जेन्टिनालाई जिताउन दोस्रो हाफमा एभर बानेगा र म्यानुएल लान्जिनीले गोल गरे । विश्वकपमा छनौट हुन असफल भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका इटालीका कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोनले यो खेलमा भने सहभागिता जनाए ।

४० वर्षका बुफोनले राम्रो प्रदर्शन गरे । तर ७५ औँ मिनेटमा बानेगा र ८५ औँ मिनेटमा लान्जिनीलाई रोक्न भने सकेनन् । बुफोनले एस्तोरीलाई सम्मान दिनका लागि सन्यासको कार्यान्वयनको समय पछि धकेलेको र आफू यो खेलमा सहभागी भएको बताए ।

चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्