एउटी युवती केन्द्राध्यक्षको सिर्जनात्मक शैली

विद्यार्थीसँग साथी बन्दै छिन् नयाँ गुरुआमा

एसएसली दिन आएका विद्यार्थीलाई टीका लगाएर शुभकामना दिँदै केन्द्राध्यक्ष अमृता बुढाथोकी। तस्बिर: देशसञ्चार

सुर्खेत- आआफ्नो विद्यालयको पोशाक लगाएर परीक्षा केन्द्रमा विद्यार्थी पुग्दा परीक्षाकेन्द्र झिलिमिली देखिन्थ्यो। विद्यार्थीहरु  प्रश्नपत्रप्रति जिज्ञासा व्यक्त गर्दै परीक्षामा कसरी लेख्ने बारेमा छलफल गर्दै थिए।

परीक्षा शुरु हुनभन्दा १५ मिनेट पहिल्यै घण्टी बज्यो। विद्यार्थीहरु प्रवेश गेटबाहिरै लाइन लागे। केन्द्राध्यक्षले सुरु गरिन्, फूलमाला र अबिर लगाउन।

भन्दै थिइन्, ‘तपाईँहरुको उज्वल भविष्यको कामना। ढुक्क भएर लेख्नुहोस्। राम्रो अंक ल्याएर भविष्यमा ठूलो मान्छे बन्नू।’

विहीबारदेखि सुरु भएको एसईई परीक्षामा विद्यार्थीसामु फरक रुपमा प्रस्तुत भइन्, सूर्यप्रकाश मावि सालकोट, पलैटेकी केन्द्राध्यक्ष अमृता बुढाथोकी। उनले विद्यार्थीसँग मित्रताको व्यवहार देखाइन्।

परीक्षा केन्द्रमा आशिर्वाद थाप्दै विद्यार्थीले भन्दै थिए, ‘धन्यवाद गुरुआमा।’

करिव १५ मिनेट विद्यार्थीको स्वागतमा व्यस्त बनेकी अमृताले भनिन्, ‘विद्यार्थीलाई चिट चोरकै दृष्टिकोणले हेर्नुहुँदैन। उनीहरुसँग सहयोग माग्नुपर्छ। ताकि शान्त वातावरण रहोस्।’

सुरक्षाकर्मीको दलबलसहित परीक्षा केन्द्रमा पुग्ने केन्द्राध्यक्षले गर्ने व्यवहारले विद्यार्थीहरु त्रसित हुनुपर्ने वातावरण छ। विद्यार्थीले शान्त रुपमा लेख्ने वातावरण पाउँदैनन्। ‘सेना, आर्मीको घेराभित्र परीक्षा दिए जस्तो अनुभव विद्यार्थीले गर्नुहुँदैन,’ २०६१ सालको आफ्नो एसएलसी सम्झिँदै उनले भनिन्, ‘परीक्षा मर्यादित बनाउन विद्यार्थीलाई डराउने होइन्, हौसला दिने वातावरण हुनुपर्छ।’

परीक्षार्थीसँग सहयात्रा
पहिलो पटक केन्द्राध्यक्ष सम्हाल्दा गन्यमान्यले नेताले निकै प्रेसर दिएका थिए। परीक्षा केन्द्रमा कडाइ गर्दा विद्यार्थीले धम्काए। २०७१ सालदेखि एसएलसी परीक्षा सञ्चालन गर्दा ‘असफल केन्द्राध्यक्ष’ बनाउन विद्यार्थीदेखि स्थानीय ठूलाबडासम्म लागि परे। महिला केन्द्राध्यक्ष भएकै कारण विद्यालय व्यवस्थापन समितिबाहेक स्थानीयको सहयोग पाउन गाह्रो भयो, अमृतालाई।

विगतमा समुदायले असहयोग गर्दा जिम्मेवारी निर्वाह गर्न कठिन भएपछि विद्यार्थीसँग सहयात्रा गर्ने योजना अनुसार फरक रुपमा आफू प्रस्तुत भइन् । विगत चार वर्षदेखि एसएलसीहुँदै एसईई परीक्षा केन्द्राध्यक्षको जिम्मेवारी पाएकी बुढाथोकीले भनिन्, ‘केन्द्राध्यक्षले विद्यार्थीलाई सत्रु होइन्, सहयात्री बनाउनुपर्छ।’

विद्यार्थीलाई शुभकामना दिँदै केन्द्राध्यक्ष अमृता बुढाथोकी। तस्बिर: देशसञ्चार

परीक्षालाई व्यवस्थित बनाउने जिम्मेवारी विद्यार्थीको पनि भएकाले चिढ्याउने व्यवहारभन्दा मित्रताको व्यवहार देखाउनुपर्ने उनी बताउँछिन्।

नमूना बनाउने अठोट
जिल्लाका ३० वटा परीक्षा केन्द्रमध्ये सूर्यप्रकाश माविको केन्द्रलाई जिल्लाकै नमूना केन्द्र बनाउने अठोट लिएको केन्द्राध्यक्ष अमृताले बताइन्। शिक्षा कार्यालयको जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै अरु केन्द्रभन्दा फरक बनाउने उनको योजना छ। देशसञ्चारसँग उनले भनिन्, ‘विगतभन्दा परीक्षा मर्यादित र व्यवस्थित बन्दै गएको छ।’

आगामी १७ गते सकिने परीक्षालाई मर्यादित बनाउन विद्यार्थीहरुसँग सहकार्य थालिएको जानकारी उनले दिइन्। हाल जिल्लामा तीन वटा परीक्षा केन्द्रको जिम्मेवारी शिक्षिकाले लिएका छन्। विगत भन्दा शिक्षिकामाथि विश्वास बढ्दै गएको अमृता बताउँछिन्।

डाक्टर पढ्ने सपना, बनिन् शिक्षक
अमृता सूर्यप्रकाश माध्यमिक विद्यालयमा सामाजिक पढाउँछिन्। बबई गाउँपालिका दाङ घर भएकी अमृताले २०७१ सालदेखि सुर्खेतलाई कर्मथलो बनाएकी छन्। २९ वर्षीया अमृताको बाल्यकाल संघर्षपूर्ण बित्यो। दुई भाइ र तीन बहिनी छन्।

सामान्य कृषक परिवारमा हुर्किएकी उनलाई बुवा कृष्णबहादुरको सपना डाक्टर बनाउने थियो। उनलाई पनि उत्कृष्ट डाक्टर भएर बृद्धबृद्धाहरुको सेवा गर्ने उद्देश्य थियो। कक्षामा शिक्षकले तिमी भविष्यमा के बन्छौं भन्दा डाक्टर बन्छु भन्थिन्। कृषि नै आम्दानीको स्रोत बनाएको परिवारले उनलाई उच्च शिक्षा पढाउन निकै मिहनेत गर्‍यो। बुवाको निधनपछि घरको जिम्मेवारी बढेकाले डाक्टर पढ्ने अवसर गुमाउनुपर्‍यो अमृताले। भन्छिन्, ‘सात वर्षको उमेरमा बुवा बितेपछि घरको जिम्मेवारी समेत बढ्यो,’ उनी भन्छिन्, ‘घरायसी समस्याले डाक्टर भएर सेवा गर्न नपाए पनि शिक्षक भएर दक्ष जनशक्ति उत्पादनमा गर्छु भन्ने अठोट लिएकी छु।’

उनी हाल केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेकै विद्यालयमा स्थायी दरवन्दीमा कार्यरत शिक्षक हुन्। २०६१ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेकी थिइन्। गाउँमा विद्यालय उच्च माध्यमिक विद्यालय नहुँदा एसएलसी परीक्षा अञ्चल सदरमुकाम तुल्सीपुरबाट दिनुपर्थ्यो। ‘देशमा शसस्त्र द्वन्द्व चलिरहेका बेला एसएलसी दिइयो, उनले भनिन्, ‘कसरी परीक्षाबाट निष्काशित हुनबाट जोगिने भन्ने बारेमा सोचियो। किनकी शसस्त्र, प्रहरीको त्रासले ढुक्क भएर लेख्न सक्ने वातावरण थिएन।’

लेख्ने बारेमा छलफल
एसएसली केन्द्राध्यक्ष अमृता बुढाथोकी। तस्बिर: देशसञ्चार

जनता माध्यमिक विद्यालय हंसपुर दाङबाट एसएलसी दिएकी उनले त्रिभुवन विश्वविद्यालय कृतिपुरबाट स्वास्थ्य विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी हुन्। ‘कक्षामा उत्कृष्ट विद्यार्थी भएकाले पनि एसएलसीमा अरुभन्दा राम्रै अंक आयो,’ उनले भनिन्, ‘बुबाको डाक्टर बनाउने सपना पूरा नभए नि शिक्षक भएर सेवा गर्छु। धेरै काम गर्न बाँकी छ।’

चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्