मार्मिक कविता संग्रह लिएर आए कवि मुकुन्द

काठमाडौं- मनमा कुनै कुराले छुन्छ, तब शब्द सृजनाका पारखीहरुले कविता, मुक्तक, गीत, गजल लगायत साहित्यिक सृजनाबाट समाजमा पुर्‍याउँछन् । साहित्य समाजको ऐना हो भनिन्छ।

समाजमा जे देखिन्छ, जे भोगिन्छ, त्यही नै साहित्यकारहरुले सभ्य, शिष्ट, आकर्षक भाषा र लयमा कविता, गजल, कथा, उपन्यासमा उतार्छन् । साहित्य सृजना गर्न न उमेरले छेक्छ, न समयले। बालक होस् वा प्रौढ उत्तिकै मार्मिक साहित्यिक सृजना गर्छन्। यसको पछिल्लो उदाहरण बनेका छन्, उमेरले छ दशक पार गरेका कवि मुकुन्द पौडेल।

हालै उनले दुईवटा कृति सार्वजनिक गरेका छन्। आफ्नो ३८औँ वैवाहिक वर्षगाँठको अवसर पारेर (फागनु २७)गते मझधार (कविता संग्रह) र मन सिन्धु (मुक्तक संग्रह) नेपाली साहित्य भण्डारमा थपेका छन्। उनका कविता र मुक्तकमा जति प्रेम भावनाका छन् त्यत्ति नै मुलुकको चिन्ता र प्रकृति प्रेममय छन् ।

कवि पौडेलको युग नै ‘मझदार र मन सिन्धु’ हो भन्दा फरक पर्दैन। उनले आफ्नो बाल्यकालदेखि जागिरे जीवन हुँदै अवकाश प्राप्त जीवनसम्म आइपुग्दा मुलुकले भोगेको अवस्था, समाजमा भएका घटना, राजनीतिक अस्थिरता, द्वन्द्व, हिंसा, असुरक्षा, संस्कृतिको नाम भएको विकृतिसँगै प्रकृतिले दिएको उपहार आफ्ना सृजनामा उतारेका छन्।

विभिन्न छन्दलाई पछ्याए पनि स्वयम् कविता भने कुनै छन्दामा छैनन्, तर छन्दोबद्ध र लयात्मक छन्। अनुप्रास मिलेकाले सुमधुर छन्। कतै माया प्रेमका त कतै व्यंग्य पनि गरेका छन् कवि पौडेलले आफ्नो सृजना मार्फत।

मझधार र मन सिन्धु विषयका हिसाबले विविधता युक्त कृति हुन्। स्कूले जीवनमा कविताले लेखेर पुरस्कार थापेपनि जागिरे जीवनमा साहित्य सृजनामा निष्क्रिय रहेका उनले पछिल्लो तीन वर्ष यता लेखेका कविता, गीत, गजल, हाइकु र मुक्तकलाई ‘मझधार’ र ‘मन सिन्धु’मा समेटेका छन्।

मुलुकमा पटक पटक भएका क्रान्ति र राजनीतिक उपलब्धी भएपनि जनताको समस्या समाधान नभएको तर्फ कवि पौडेलले आफ्नो कविता मार्फत असन्तुष्टि पोखेका छन् । मीठा मीठा र आकर्षक भाषण गरेर जनताको समस्या समाधान गर्न नसकेका नेताहरुप्रति भएका क्रान्तिबारे उनले प्रश्न गरेका छन्।

खान अझै आधी पेट छ लाउन छैन बस्त्र
तै नि किन यी दुःखीलाई बनाउँदैछन् अस्त्र
मीठा मीठा सपना बाँडी छरी मन्मा भ्रान्ति
हैन अझै गर्न खोज्या हो यो कस्तो क्रान्ति ?

नेताहरुले सत्ता केन्द्रित राजनीति गर्दा जनताको समस्या समाधान नभएको कवि पौडेलको तर्क छ । यस तर्फ उनी भन्छन् :

सत्ता भन्ने चिजै यस्तै, मौरी भुले रसमा
आज आफू आफैं छैनन्, पराईको बसमा
काम गर्ने हैनन् यिन्ले , मात्रै जनता भजाई
सत्ताको नै छिनाझम्टी, अनि आफ्नो रजाईं

भाषण र बाहिरी आवरणले राजनेता नबन्ने, यसका लागि कर्म चाहिने कवि पौडेलका कवितामा भेटिन्छन् । बाहिरी आवरणले राजनेता बन्ने भए धेरै बनिसक्ने यो कवितामा भनिएको छ :

धोती लगाउँदैमा गान्धी जस्तै बन्ने भए
टोपी लगाउँदैमा सबै वी.पी. बन्ने भए
आज सबैले लगाउँदा हुन् धोती र टोपी
आदर्शवादी त्यस्तै राजनेता बन्ने भए

कविमा निराशा र असन्तुष्टि मात्रै छैनन्, आशावादी पनि देखिएका छन् । संविधान जारी भएपश्चात मुलुकमा सबै तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा भएको हार र जितलाई सामान्य रुपमा स्वीकारेर नेताहरुले अब मुलुकको विकास र समृद्धि गर्नुपर्ने कवि पौडेल जोड दिन्छन् । मझधार कविता संग्रहमा समेटिएको यो हाइकु :

गयो चुनाव
कहीँ हार कहीँ जित
समृद्धि देऊ

आफ्ना दुई कृतिमा प्रेमरसका कविता, गीत, गजल, मुक्तक पनि उत्तिकै समेटेका छन्, कवि मुकुन्द पौडेलले । यो प्रतिनिधि कविता पढौँ

हुन्न हुन्न भन्दा भन्दै तान्यौ तिमीले
छातीनेरै मायाको तीर हान्यौ तिमीले
चिन्नु जान्नु छैन हेर कस्की छोरीलाई
अरु छाडी मलाई किन छान्यौ तिमीले

हैन हजुर मैले तान्या, तानिन् उनैले
छातीनेरै मायाकै तीर हानिन् उनैले
यति उनले नगरे त, के लाग्थ्यो र मेरो
जे नै गरिन् ठिकै गरिन् जानिन् उनैले

सबैले इमान्दारिताको व्यवहार गर्ने भए विश्व नै सुन्दर हुने कवि पौडेलको विश्वास छ । आफूलाई कसैले धोका दिँदा होस् वा आफूविरुद्ध कुनै कार्य भए रिसाउनेहरु नै अरुविरुद्ध लाग्ने उनका मुक्तक र कवितामा भेटिन्छन् । उनी सबै सबैका लागि राम्रो भइदिन सके यो संसार सुन्दर हुने ‘मन सिन्धु’मा समेटिएको यो मुक्तक बोल्दछ :

म जस्तै तिमी बनिदिने भए
तिमी जस्दै म बनिदिने भए
कति सुन्दर हुन्थ्यो यो संसार
हामी जस्तै सबै बनिदिने भए

कवि पौडेलले समाजमा मौलाउँदै गएको विकृतिप्रति पनि प्रहार गरेका छन् । आजकालका सन्तानले जन्मदिने बाबुआमाप्रति गरेको हेला आफ्ना कवितामा उतारेका छन् उनले । पालनपोषण, शिक्षा दीक्षा दिएर हुर्काएका सन्तान बुढेसकालमा सहाराविहीन भएको अवस्थालाई उनले कवितामा मार्मिक र मनछुने शैलीमा यसरी उतारेका छन् :

जन्म दिई पाली पोषी दिए शिक्षा दीक्षा
आज तिन्कै बेहाल भा’छ मागी खान्छन् भिक्षा
कति कमजोर रै’छ हेर जिन्दगीको यो तार
जति सन्तान भए पनि रहेन छ क्यै सार

सन्तानले आफ्ना आमाबुवामाथि गरेको बेवास्ताका घटना हिजोआज निकै सुनिन थालेको छ । छोराछोरीले बुवाआमालाई हेला, बेवास्ता गरेको मात्रै होइन, हिजोआज फेशनको रुपमा लगाउन लागिएको कपडाकाबारेमा पनि कवि पौडलले कविता बनाएका छन् :

छोराले नी आफ्नो पोशाक कता साटेछ
कुन कस्को थोत्रो ल्यायो घुँडै फाटेछ

उनले छोराको पोशाककोबारेमा मात्रै होइन छोरीले लगाउने कपडाबारेमा पनि भनेका छन् :

छोरीले नी गुन्यू चोली कता साटिछ
कस्को ल्याई कहाँबाट कुम फाटेछ

प्रकृति प्रेममा अल्लादित हुने कवि पौडेलले प्रकृतिलाई मानवीयकरण गरेर कविता, मुक्तक, गीत र गजल लेखेका छन् । प्रकृतिले हामीलाई अपार सम्भावना दिएको, प्राकृतिक स्रोतहरु धेरै रहेका उनले आफ्ना सृजनामा लेखेका छन् । कवि पौडेल प्रकृतिबाट यसरी मोहित भएका छन् :

हिमालको शिरबाट छहरा भै पानी झर्दा
खोलानाला हुँदै तल नदी तलाउ बन्दै गर्दा
के छैन र अब त्यहाँ प्रकृतिको गर्भ भित्र
देखिने छ मनोरम त्यो बिहानीले लाली छर्दा

चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्