फेरि राजनीतिमा सक्रिय हुन्छु: नरहरि आचार्य

काठमाडौँ- नरहरि आचार्य। राजनीतिमा सामान्य चासो राख्ने व्यक्तिलाई उनका बारेमा धेरै भनिरहनु पर्दैन। नेपाली कांग्रेसका एक चर्चित नेता जसले कांग्रेसलाई सधैं समय सापेक्ष र फरक ढंगले सञ्चालन गर्नुपर्छ भन्ने आवाज पार्टीभित्र र बाहिर उठाउँदै आएका थिए। कांग्रेस भित्र बौद्धिक र अध्ययनशील नेताको छवि आचार्यको छ। २६ महिनाअघि २०७२ माघ २६ गते कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालको निधन भएकै दिन आचार्यलाई ‘ब्रेन हेमरेज’ भयो।

सभापति कोइरालाका विश्वासपात्र आचार्य श्रद्धाञ्जली दिन महाराजगञ्जस्थित कोइराला निवासमा पुगेकै बेला २६ गते बिहान एकाएक भुइँमा ढल्न पुगे। उनलाई तत्काल गंगालाल अस्पताल पुर्‍याइयो। त्यसपछि उनको राजनीतिक सक्रियतामा ब्रेक लाग्यो। त्यस दिनसम्म उनी राजनीतिमा यति धेरै सक्रिय थिए कि उनीबिनाको कांग्रेसको आन्तरिक होस् वा अरु दलसँगको छलफल विरलै अघि बढ्थ्यो।

अझ संविधान निर्माणका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कानुनमन्त्रीसमेत रहेका आचार्यलाई संविधानसभा, दलीय बैठकमा सरकार र पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएपछि उनी थप व्यस्त हुने नै भए। ब्रेन हेमरेजपछि ६ महिनाभन्दा बढी समय अस्पतालमा बिताएका आचार्यको दायाँ अंग प्यारालाइसिस भएको छ।

आफू शारिरीक रुपमा कमजोर भए पनि कांग्रेसले पछिल्ला चुनावमा भोगेको परिणामप्रति उनी चिन्तित छन्। लामो समय उपाचारपछि शनिबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन पुगेका आचार्यले मुस्कुराउँदै सञ्चारकर्मीसँग भने, ‘चुनावको समीक्षा हामी गर्दैछौं। मलाई जिम्मेवारी बोध भएको छ। अहिले बिरामी भन्दा पनि पार्टीको सदस्यको जिम्मेवारी बोध भएको छ।’

आचार्यले चुनावबारे आफ्नो धारणा लिखित र मौखिक रुपमा राख्दै पार्टीमाथि आइलागेको चुनौतीको सामना गर्न राजनीतिक एजेण्डाहरु प्रष्ट हुनुपर्ने बताए । कांग्रेसलाई पुरानै ढर्राबाट सञ्चालन नगर्न सभापति शेरबहादुर देउवालाई सुझाए ।

उनले स्वास्थ्यमा प्रगति भइरहेकाले पहिला जस्तै राजनीतिमा सक्रिय हुने आत्म विश्वास व्यक्त गरे । ‘स्वास्थ्यमा सुधार छ । अहिले उपचारमा छु तर पूर्ण उपचारमा छैन । अब पहिला जस्तै राजनीतिमा सक्रिय भएको देख्न पाउनु हुन्छ । तर अलिकति समय चाहिँ लाग्छ,’ आचार्यले भने ।

१३ औं महाधिवेशनमा सदस्यता छानबिन समितिका सदस्य भएका आचार्य शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछिको पहिलो बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए ।

बिरामी परेपछि उनी पहिलोपटक पार्टीको औपचारिक बैठकमा उपस्थित भएका हुन्।

पार्टी बैठकमा सहभागी हुँदै नरहरि आचार्य। तस्बिरहरु: प्रकाश ढकाल

चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्