कहाँ हराए १० हजार क्षयरोगी?

विश्व क्षयरोग दिवसमा आयोजना भएको कार्यक्रमका सहभागी। तस्बिर: देशसञ्चार

काठमाडौँ- शनिबार विविध कार्यक्रम गरेर १२६ औँ विश्व क्षयरोग दिवस मनाइएको छ।

‘सबै तहमा सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चिता’ भन्ने नाराका साथ नेपालमा क्षयरोग दिवस मनाइएको हो। कार्यक्रमका क्रममा १० हजार क्षयरोगी उपचार पद्धतिमा नआइसकेको आयोजकहरुले बताएका थिए।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अहिले एक करोड चार लाख मानिस क्षयरोगबाट पीडित छन् भने प्रत्येक वर्ष ९६ लाख क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन्। यीमध्ये एक लाख ४० हजार बालबालिका, ३२ लाख महिला र ५४ लाख पुरुष छन्।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक केदारनरसिँह केसीका अनुसार नेपालमा पनि ४५ हजार क्षयरोग संक्रमित छन्। ३२ देखि ३३ हजार बिरामीको उपचार गर्न सफल भएको र १० हजार बिरामी औषधीय पद्धतिमा आइसकेका छैनन्। ‘१० हजार बिरामी हराएका छन्,’ केसीले भने।

झन्डै एक हजार बिरामी मल्टि ड्रग रेसिस्टेन्टमा रहेको जुन कुनै पनि औषधिले छुन नसक्ने खालको क्षयरोग बिरामी रहेको पनि उनले बताए।

डा. केसीका अनुसार नेपालमा चार हजार तीन सय १२ वटा क्षयरोगको औषधि पाइने सेन्टर रहेको र ६ सय ३० ठाउँमा खकारको परीक्षण गर्ने सेन्टर छ। २०१६ देखि २०२२ सम्ममा २० हजार खकारको कारण पत्ता लगाउने, २२ लाख माइक्रोसकोप टिबी खकार जाच्ने र तीन हजार जति मल्टी ड्रग रेसिस्टेन्टको उपचार गर्ने र १० प्रतिशत बाल्यकालमा हुने टिवीको उपचार गर्ने लगायत योजना रहेको उनले बताए।

भक्तपुर राष्ट्रिय क्षयरोग केन्द्रमा १२६ औँ विश्व क्षयरोग दिवस मनाइरहँदा जनसंख्या तथा स्वास्थ्यराज्य मन्त्री पद्माकुमारी अर्यालले क्षयरोग नागरिक सबै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले औषधी खाएमा निको हुने क्षयरोगमा यदि औषधिको पूरै कोर्स भएन भने बीचमा खानेछोड्ने गरेमा ड्रग रेसिस्टेन्ट हुने बताइन्। उनले स्वास्थ्यकर्मीले बिरामीलाई राम्रोंसँग परामर्श दिनुपर्नेमा जोड दिइन् ताकि बिरामीले नियमित औषधि खाओस्।

क्षयरोगको संक्रमण माइक्रोब्याक्टेरिया ट्युबरक्लोसिस नामक ब्याक्टेरियाले हुन्छ। क्षयरोग एक प्रकारको सरुवा रोग हो। यो शरीरको जुनसुकै भागमा पनि हुन सक्ने भए पनि फोक्सोमा हुने बढी सम्भावना रहने चिकित्सक बताउँछन्।

दुई हप्तादेखि खोकी लागेमा, तौल घटेमा, छाती दुखेमा, खकारमा रगत देखिएमा, साँझपख हल्का ज्वरो आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गर्नुपर्ने हुन्छ।

क्षयरोगबाट बच्ने उपाय

  • क्षयरोगका बिरामीले नियमित औषधी सेवन गर्ने।
  • शिशु जन्मनेबित्तिकै वा जन्मेको १ वर्षभित्र बीसीजीको खोप लगाउने।
  • सुर्तिजन्य तथा मादक पदार्थको सेवन नगर्ने।
  • धुलोधुँवामा नबस्ने।
  • हाछ्युँ गर्दा खोक्दा रुमालले मुख छोप्ने।
चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्