सुनचाँदीका महासंघ ‘मर्ज’ अब हुने

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्‍न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

राजधानीमा एक कार्यक्रमकाबीच दुवै महासंघका अध्यक्षहरु मोहनकुमार सुनार र रमेश महर्जनले हस्ताक्षर गरेका छन्।

दुई महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकिकरण अपरिहार्य रहेको भन्दै देशैभरिका सम्बन्धित व्यवसायीका संघसंस्थाहरुलाई समेट्ने गरी एकिकरण गरेर लैजाने प्रतिबद्धता जनाएको छ।

सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्याहरुलाई दिर्घकालिनरुपमा समाधान गर्नका लागि पनि एकिकरण आवश्यक रहेको व्यवसायीहरुको ठहर छ।

व्यवसायलाई उद्यम व्यवसायको रुपमा विस्तार एवं निर्यात प्रवर्द्धन, व्यवसायको स्तरोन्‍नति, राजश्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासको लागि अव दुवै महासंघले एकिकृतरुपमा काम गर्ने पनि बताएका छन्।

अबका दिनमा दुवै महासंघले यस क्षेत्रका जुनकुनै काम पनि संयुक्त रुपमा सञ्‍चालन गर्ने जनाएका छन्।

एकिकरण गर्ने सम्झौतामा हस्ताक्षर भएपनि कुन मितिमा दुई महासंघ एक हुने भन्‍नेबारे अझै खुलाईएको छैन।

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्