रंगेहात समातिए २६ जना तस्कर

सुर्खेत–अवैध रुपमा काठ तस्करी गर्दै आएका २६ जना तस्करहरु रंगेहात समातिएका छन् । जिल्ला वन कार्यालयले ग्रामिण क्षेत्रबाट अवैध काठ वीरेन्द्रनगर ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म काठ तस्करी गरिरहेका २६ जनालाई रंगेहात पक्राउ गरिएको हो। काठको माग बढेपछि तस्करहरूले जिल्लाको ग्रामीण क्षेत्रबाट अवैध रूपमा वीरेन्द्रनगरमा काठ भित्राउन थालेका छन्।

बजारमा माग बढेपछि तस्करहरूले रातको समयमा प्रहरी जिल्ला वन कार्यालयका कर्मचारीलाई छलेर काठ ओसार्ने गरेका हुन् । यही क्रममा वन कार्यालयका कर्मचारी र प्रहरीले बेलाबेलामा तस्करलाई काठसहित समात्ने गरेको छ।

तर तस्करले सवारी साधनमा लुकाएर काठ भित्राउने र प्रहरीले फेला नपार्ने भएकाले पनि पछिल्लो समय वीरेन्द्रनगरमा काठ तस्करी बढ्दै गएको हो। वन संरक्षण र काठ तस्करी रोक्न कार्यालयले विभिन्न रणनीतिहरू अपनाएपनि काठ तस्कर भने रोकिएको छैन्। जिल्लाका तीन वटा नाकाबाट वीरेन्दनगरमा काठ भित्रिने गरेको छ।

जिल्ला वन कार्यालयका अनुसार सात महिनाको अवधीमा पक्राउ परेका उनीबाट ६ सय १७ थान काठ पनि बरामत गरिएको छ । यस्तै तीन सय १७ क्यूफिट चिरान र दुई सय नौ दशमलव ७२ क्यूफिट गोलिया काठ बरामत गरिएको छ।

काठ ओसारपसारमा प्रयोग भएका पाँच वटा सवारी साधनहरू पनि नियन्त्रणमा लिइएको छ। जिल्लाका सामुदायिक वनबाट बिना ईजाजत वन पैदावार र चिरान काठ ओसार पसारमा संलग्नहरूलाई उनीहरुविरुद्ध अदालतमा मुद्दा नै चलाइएको जिल्ला वन अधिकृत हेमराज विष्ठले बताए।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तोकिएसँगै एकाएक घर निर्माण गर्नेहरूको संख्या बढेपछि जिल्लामा अवैध रूपमा काठ तस्करी पनि बढेको हो।
‘कर्णाली प्रदेशको राजधानी बनेपछि अत्याधिक घर निर्माण भइरहेका छन्’ उनले भने,‘वैधानिक रूपमा किन्दा महंगोपर्ने भएकाले पनि अवैधानिक रूपमा काठको प्रयोग हुने गरेको छ।’

वीरेन्द्रनगरका पूर्वीक्षेत्र धुलियाविट, पश्चिमको बांगेसिमल र सानो सुर्खेत नाकाबाट अवैधरूपमा काठ भित्रिने गरेको छ। सामुदायिक वनबाट काठको चोरीनिकासी रोक्न जिल्ला वनले विशेष अभियान थाल्ने भएको छ। अवैधानिक काठ तस्करीलाई रोक्न आपुर्ती समितिले सहुलियतमा वितरण गर्ने भएको हो।

आवैधानिक रूपमा काठ तस्कर हुनेक्रम न्यूनिकरण गर्न कार्यालयले काठ वितरण थाल्ने जनाएको छ। अधिकृत विष्ठले प्रदेश राजधानी भएकाले पनि वीरेन्द्रनगरमा काठको माग बढेको बताए। वनले कर्मचारी र प्रहरी सक्रिय भएका कारण तस्करहरू पनि पक्राउ पर्न थालेको छ।अवैध रूपमा काठ भित्रिने नाकामा वन कर्मचारी र सुरक्षाकर्मीले गस्ती बढाइएको छ।

डढेलो रोक्न अभियान
डढेलोबाट वनमा हुने क्षति रोक्न विशेष अभियान थालिने भएको छ। गर्मी तथा शुख्खा मौसम सुरु भएसँगै डढेलो नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न लागिएको हो। जिल्ला वन कार्यालयले सुर्खेतका सामुदायिक वनहरूमा विशेष जनचेतनामूलक कार्यक्रमहरू गरिने जनाएको छ।

डढेलो लाग्नै नदिने, लागेपछि कसरी जोगाउने, डढेलो कसरी नियन्त्रण लिने भन्ने बारेमा पूर्व तयारी गराइने भएको छ। विशेष संरक्षित क्षेत्र काँक्रेविहार जंगल, गोठिकाँडा वनमा डढेलो नियन्त्रणबारे तयारी गरिने भएको हो।

जिल्ला वन अधिकृत हेमराज विष्टले वनमा डढेलो लागे नियन्त्रण गर्ने उपकरणसमेत वितरण गरिने बताए। उनले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण वितरण सँगै सामुदायिक वनका पदाधिकारीलगायत वडाहरूमा गएर सचेतना गोष्ठी, अन्तरक्रिया थालिएको बताए।

गर्मी मौसम सुरु भएसँगै सल्लो, साललगायतका पोत झर्ने र सुक्ने भएकाले पनि वन डढेलोको उच्च जोखिम हुन्छ।

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्