राजनीतिक प्रतिवेदनमाथि थप छलफल

चैत २० सम्म पार्टी एकता गर्ने तयारीमा वाम गठबन्धन

काठमाडौंः वाम गठबन्धनले चैतमै पार्टी एकताको घोषणा गर्ने गरी आन्तरिक छलफल तथा प्रशिक्षण तीव्र पारेको छ।

वाम गठबन्धनको एक शीर्ष नेताका अनुसार यसअघि वैशाख १० गते पार्टी एकताको घोषणा गर्ने भनिए पनि त्योभन्दा अगावै सम्भवतः प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै चैत १९ या २० गते नै एकता गर्ने गरी छलफल अघि बढिसकेको छ।

त्यसैलाई आधार मान्दै आइतबार बसेको राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलको बैठकले मातहतको मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै सुधारका लागि थप सुझाव दिएको छ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले छलफल निकै सकारात्मक रुपमा अघि बढेको र आगामी तीन दिनभित्र अर्थात चैत १४ गते अन्तिम छलफल गरी १५ गते उक्त प्रतिवेदन एकता संयोजन समितिलाई पेश गरिने छ।

माधवकुमार नेपाल संयोजक रहेको कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, रघुजी पन्त, नारायकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल सदस्य छन्।

प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आन्दोलन, दुई पार्टीको पृष्ठभूमि, पार्टी एकताका आवश्यकता र औचित्य र त्यसका आधारहरु, नीति, योजना तथा कार्यक्रमहरु समावेश गरिएको छ।

भुसालले आफ्नो कार्यदलले प्रतिवेदन बुझाइसकेपछि दुई पार्टीको छलफल हुने र सकेसम्म प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नुपूर्व नै एकताको घोषणा हुने बताइन्।

आइतबार नै विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय सतितिद्वारा भक्तपुरमा आयोजित गोप्य प्रशिक्षणमा माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता छ्टिै हुने र त्यसका लागि गम्भीर छलफल अघि बढेको जानकारी दिएका छन्।

विधान मस्यौदा कार्यदलले पनि एकीकृत पार्टीको सांगठानिक संरचना र अन्तरिम विधानको खाकालाई अन्तिमरुप दिइसकेको छ।

एकीकृत कम्युनिष्ट पार्टीको केन्द्रदेखि जिल्लास्तरसम्मको संरचना निर्माणको खाका तयार गरिएको छ। एकीकृत पार्टीको केन्द्रीय कमिटी बढीमा तीन सय ५० सम्म, पोलिटव्युरो सदस्य एक सयसम्म, स्थायी समिति धेरैमा ३५ सम्म बनाउने लगभग दुवै दलबीच सहमति भइसकेको छ।

पेशागत संगठनका एउटै महासंघ बन्ने र पार्टी एकता लगत्तै जनसंगठन एकीकरण गरिने गरी खाका तयार गरिएको छ।

राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको प्रतिवेदनहरुले पूर्णता पाएलगत्तै वाम गठबन्धनका साझेदार एमाले र माओवादीका शीर्ष नेताहरुको सम्मान जनकसहभागिता सहित एकताको घोषणा गर्ने तयारी भएको छ।

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्