अर्थमन्त्री खतिवडाले भने: ‘अस्वभाविक रुपमा बढेको सेयर बजार करेक्सन भइरहेको छ’

अर्थमन्त्री युवराज खतिवडा विराटनगरमा उद्यमी सँग छलफल गर्दै।

विराटनगर- अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारको गिरावटलाई अस्वभाविक रुपमा बढेको सेयर बजारको करेक्सन भएको बताएका छन्।

उनले भने, ‘हिजो सेयरको बजार मूल्य अस्वभाविक रुपमा बढेको थियो, अहिले घटिरहेको छ। सप्लाई बढ्दा डिमाण्ड कम भएकाले पनि सेयरको मूल्य घटेको हो। त्यसैले सेयरबजारको गिरावटमा चिन्तित हुन पर्दैन।’

खतिवडाले अगाडि भने, ‘सेयरबजारमा करेक्सनको चरणमा रहेको छ, त्यसैले केही समयलाई घटिरहेको हो।’  उनले सरकार सेयर लगनीको विरोधी नभएको भन्दै समय अनुकुल आफैं सेयर बजार उकालो लाग्ने बताए।

सेयर बजार घट्दैमा वा ओरालो लाग्यो भन्दैमा अत्तालिनु पर्ने अवस्था नभएको खतिवडाको भनाई थियो।

विराटनगरमा आइतबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको अन्तक्रियाका क्रममा उद्योगीहरुले सेयर बजारको पछिल्लो अवस्थाबारे जिज्ञासा राख्दा अर्थमन्त्री खतिवडाले उक्त भनाई राखेका थिए।

ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले पछिल्लो समय सेयरको मूल्य  लगातार ओरालो लागिरहेको भन्दै त्यसको सुधारका लागि सरकारले के गरिरहेको भन्ने प्रश्न राखेका थिए।

अर्थमन्त्री खतिवडाले सरकार लगानीमैत्री वातावरणका लागि प्रतिबद्ध रहेको दोहर्याएका थिए।

जग्गा प्लटिङका कारण अर्थतन्त्रमा असर पर्यो

त्यसैगरि, जग्गा प्लटिङका कारण अर्थतन्त्रमा समेत धक्का पुगेको बताएका अर्थमन्त्री खतिवडाले भनाई थियो। उनले लगानीकर्ता र बैंकहरुले जग्गा प्लटिङमा लगानी गर्दा समस्या निम्तिदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए।

सरकारले भन्सारमा रिफरेन्स मूल्य लागु गर्दा उद्योग ब्यवसाय मर्कामा परेको व्यवसायीहरुले गुनासो थियो।

व्यवसायीले भन्सारको नयाँ  नियमका कारण तेश्रो मुलुकबाट निर्यात गरिरहेका ब्यवसायीहरुलाई समस्या परेको उल्लेख गरेका थिए। ब्यापार संघका अध्यक्ष पवन सारडाले सरकारी नीतिका कारण चिनी आयातमा समस्या भएको गुनासो गरे।

कार्यक्रममा अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले चिनीको विषय नेपाली कृषक र उद्योगीलाई जोगाउने क्रममा केही समस्या उत्पन्न हुन खोजेजस्तो देखिएको भन्दै उद्योगीको कुराको बचाउ गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्