पूर्वराजा विराटनगरको सडकमा पैदलै हिँडेपछि…

विराटनगर- पूर्वराजा ज्ञानेन्द्र शाहले विराटनगरमा अवस्थित शक्तिपीठमा आइतबार पूजाआजा गरेका छन्। उनी विराटनगरका सडकमा पैदल हिँड्दै एक मन्दिरदेखि अर्को मन्दिर पुगेका थिए। उनी पैदल हिँड्दा सडकका दुवैतर्फ बसेका सर्वसाधारणले स्वागत गरेका थिए।

झापाको दमकमा पछिल्लो समय बसोबास गर्दै आएका राजा पूर्वनिर्धारित कार्यक्रम अनुसार रामनवमीको अवसरमा विराटनगर आएका हुन्।

निजी सवारीमा आएका पूर्वराजा शाह ३ बजेर ३५ मिनेटमा विराटनगरको मेनरोडमा अवस्थित काली मन्दिरमा प्रवेश गरेका थिए। यसअघि उक्त स्थानमा सयौंको संख्यामा नागरिक पूर्वराजा शाहको स्वागतमा उपस्थित थिए। यसक्रममा विभिन्न राजनीतिक दलका ब्यक्तिसँगै राजपाका वरिष्ठ नेता बद्रीप्रसाद मण्डल पनि पूर्वराजाको स्वागतमा सडकमा थिए। जब पूर्वराजा मन्दिर प्रवेश गर्ने क्रममा पुगे, भीडले मण्डललाई अर्को कुनामा पुर्‍याएको थियो।

पूर्वराजाको दर्शनका लागि मालासहित पुगेका मण्डल मालासहित नै धकेलिएका थिए। सो क्रममा काली मन्दिरका पुजारीहरुले पुर्वराजालाई मन्त्रोचारणसहित फूलमाला र प्रसाद अर्पण गरेका थिए । कालीमन्दिरमा १५ मिनेटको समय बिताएका पूर्वराजा शाह त्यसपछि पैदल मेनरोडमा रहेको अर्को गणेश मन्दिरमा पूजाका लागि पुगे। यसबीच सडकको दुइ छेउमा पूर्वराजा शाहको स्वागतमा मानिसहरुको भीड रहेको थियो। उनीहरुले राजा आउ देश बचाऊ लगायतका नारा लगाएका थिए।

त्यसपछि पूर्वराजा शाह रामजानकी मन्दिर पुगेका थिए। भीड बाक्लो भएपछि केहीसमय सुरक्षाकर्मीलाई समेत भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो। राजजानकी मन्दिरमा पनि उनीसँग तस्बिर खिच्नेको भीड अत्याधिक रह्यो।

स्थानीय अरुण राठी राजालाई हेर्न र तस्बिर नै खिच्न भएपनि परिवारले भनेका कारण आएको बताए। उनले भने, ‘राजा भनेको राजा हो, जे भएनि चार्म अझै छ।’

रामजानकी मन्दिरपछि उनी केही समय विश्रामका लागि तीनपैनीस्थित होटल ह्यारिसन पुगेको मूल स्वागत समितिका संयोजक बल्लभप्रसाद दाहालले बताए। त्यसलगत्तै उनी साँझ नै दमक फर्किएको दाहालले जानकारी दिए।

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्