रुस : सपिङ मलमा भीषण आगलागी, ३७ जनाको मृत्यु

सपिङ मलको छतबाट आगो निभाउने प्रयास हुँदै । तस्बिर : रोयटर्स

रुसको साइबेरियामा रहेको केमिरोवो शहरको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको ज्यान गएको छ । सपिङ सेन्टरमा भीषण आगलागी भएको र अझै पनि बालबालिकासहित धेरै मानिस भित्र फसिरहेको रुसी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

विन्टर चेरी कम्प्लेक्सको माथिल्लो तलाबाट आगलागी सुरु भएको र आगलागीका कारण प्रभावित हुनेमा धेरैजसो माथिल्लो तलामा रहेको सिनेमा घरमा चलचित्र हेर्न गएका मानिस रहेका छन् ।

आगलागी भएको सपिङ मलको झ्यालबाट आगो र धुवाँको मुस्लो निस्किएको छ । तस्बिर : एएफपी

स्थानीय समय अनुसार आइतबार बेलुका लागेको आगो निभाउने तथा उद्धारको प्रयास भइरहेको सरकारी अधिकारीले जनाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा मानिसहरु ज्यान जोगाउनका लागि झ्यालबाट हामफालेको देखिएको छ ।

अग्नीनियन्त्रकले आगो निभाउने प्रयास गरेका छन् । झ्यालबाट आगोको मुस्लो तथा धुवाँ निस्किएको छ । राजधानी मस्कोबाट ३६ सय किलोमिटर पूर्वमा रहेको केमिरोवो कोइला उत्पादन हुने प्रमुख क्षेत्र हो ।

आगलागीको कारण अहिलेसम्म खुलेको छैन । तर सरकारी अधिकारीले अनुसन्धान सुरु भएको बताएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रुर्जले आगलागीबाट प्रभावित भएको परिवारलाई आफ्नो समावेदन प्रकट गरेका छन् ।

आगलागी भएको कम्प्लेक्स सन् २०१३ मा खुलेको हो । यसमा सिनेमा थिएटर, रेस्टुरेन्ट, चिल्ड्रेन जू, पसलसहितका विभिन्न व्यवसाय रहेको छ । आगलागी नेपाल समय अनुसार आइतबार पौने चार बजेदेखि सुरु भएको हो ।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्