बल टेम्परिङ्ग

समस्यामा अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नर, आजीवन प्रतिबन्धको सम्भावना

अस्ट्रेलियाका कप्तान स्टीभन स्मिथ र उपकप्तान डेविड वार्नर बल टेम्परिङ्ग मामिलाका कारण अहिले समस्यामा छन् । घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई अहिले निलम्बित गरिएको छ ।

दक्षिण अफ्रिकासँगको अन्तिम टेस्टमा स्मिथ र वार्नर निलम्बित भएका छन् । अस्ट्रेलियाले घटनाका सम्बन्धमा अनुसन्धान गरिहेको छ र उनीहरुमाथि अस्ट्रेलियाको आचार संहिता अनुसार आजीवन प्रतिबन्ध लाग्न सक्ने खबर आएका छन् ।

अस्ट्रेलिया अहिले दक्षिण अफ्रिकासँगको खेलमा फराकिलो हार तर्फ उन्मुख छ । यहि बिचमा स्मिथ र वार्नरमाथि समस्याको पहाड झन अग्लिन थालेका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलले घटनाका सम्बन्धमा दुःख व्यक्त गरेका छन् भने अस्ट्रेलियाली क्रिकेटका प्रमुख कार्यकारी अधिकृत जेम्स सदरल्याण्डले सार्वजनिक रुपमा माफी मागेका छन् । यसले गर्दा बल टेम्परिङ्गको घटनाको असर ठूलो हुने आंकलन गरिएको छ ।

प्रधानमन्त्री टर्नबुलले दक्षिण अफ्रिकाबाट आएको खबरले आफूहरु निराश रहेको बताएका छन् । उनले भनेका छन्, ‘विश्वास गर्न कठिन छ, कि अस्ट्रेलियाली टिमले यस्तो ग¥यो । हाम्रो क्रिकेट रोड मोडल रहँदै आएको छ र यो भद्र व्यक्तिले खेल्ने खेल हो ।’

यस्तै क्रिकेट अस्ट्रेलियाका प्रमुख जेम्स सदरल्याण्डले भइरहेको टेस्ट नरोकिने र घटनाका सम्बन्धमा जुन गतिमा अनुसन्धान हुनु पर्ने हो त्यो भन्दा पनि तीब्र गतिमा हुने बताएका छन् ।

गल्ती स्वीकार


अस्ट्रेलियाका खेलाडी क्यामरन बेनक्राफ्टले दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको क्रममा बल टेम्परिङ्ग अर्थात बलमा केही गडबडी गरेको स्वीकार गरिसकेका छन् ।

अस्ट्रेलियाका कप्तान स्टीव स्मिथले माफी माग्दै यो योजनाबारे आफू पहिले नै जानकार रहेका पनि बताइ सकेका छन् ।

टेलिभिजन फुटेजमा बेनक्राफ्टले बल चम्किलो बनाउनु पहिले खल्तीबाट केही निकाल्दै गरेको देखिएको थियो । बेनक्राफ्टले त्यो पहेँलो टेप रहेको बताएका छन् ।

कसरी सार्वजनिक भयो ?


तेस्रो टेस्टको खेलको क्रममा बल जब बेनक्राफ्टको तर्फ फालियो । तब उनले बल चम्किलो बनाउ सुरु गर्नु पूर्व नै आफ्नो खल्तीबाट केही निकाले अनि बल चम्किलो बनाएपछि फेरि त्यो बस्तु खल्तीमै राखेको टिभी फुटेजमा देखिएको छ ।

यो फुटेज प्रशारण भएपछि मैदानमा रहेका बेनक्राफ्टलाई यसबारेको जानकारी दिइयो । उनले आफ्नो खल्तीमा रहेको त्यो बस्तु अम्पाएरसँग कुरा गर्नु पहिले नै ट्राउजरको भित्र हाले ।

त्यसपछि उनले आफ्नो खल्ती देखाए, त्यसमा कालो कपडा मात्रै थियो । अम्पाएरले बल फेरेनन् । तर स्क्रिनमा तस्बिर देखाइसकिएको थियो । त्यसपछि दर्शक कराउन थालेका थिए ।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्