भाडाका ३२५ सवारी साधन प्रतिबन्ध

भीमदत्तनगर- चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ।

यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिए। उनले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाइएको बताए।

प्रतिबन्धित सवारी साधनमाथि निगरानी बढाउन अनुगमन टोलीसमेत गठन गरिएको छ। गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारीधनीलाई निर्देशनसमेत दिइएको थियो।

“ट्राफिक प्रहरीसित प्रतिबन्ध लगाउन समन्वय गरेका छौँ,” भट्टले भने, ‘अनुगमन समितिले पनि जाँच गर्दैछ।’

पुराना सवारी साधनले वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले गत चैत १ गतेदेखि हटाउने निर्णय गरेको हो। विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको यातायात कार्यालयले जनाएको छ ।

प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १२४, ट्रक १०६, मिनीबस तीन, टिपर १० र एक÷एक वटा कन्टेनर तथा मिनीट्रक रहेका छन्। त्यस्तै ट्र्याक्टर १३, जिप ५२ र १५ टेम्पो गुड्न नपाउने भएका छन् । बीस वर्ष पुराना सवारी साधन गुडाएको पाइए कारवाहीको दायरामा ल्याइने भट्टले बताए।

दुई हजार १०१ सवारी साधन दर्ता

यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरमा ११ महिनामा दुई हजार १०१ सवारी साधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयका नायब सुब्बा नन्दराज भट्टका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा विभिन्न सवारी साधन दर्ताका भएका हुन् ।

कार्यालयका अनुसार नयाँ दर्ता भएका सावरी साधनमा सबैभन्दा बढी एक हजार ५६२ मोटरसाइकल, सात वटा बस, मिनीबस÷ट्रक चार, एक्साभेटर ४३, जिप÷कार ३२ र माइक्रो १९ रहेका छन् । सरकारी मोटरसाइकल ३७ र ट्र्याक्टर तथा इ–रिक्सा चार गरी ८४ वटा दर्ता भएका छन् ।

महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका लेखापाल अनिल चन्दका अनुसार चालू आवको फागुनसम्ममा रु आठ करोड ७४ लाख ९२ हजार राजश्व संकलन भएको छ।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्