‘मानव भगवान हुन् तर प्रायः सुतेका छन्’

विर्तामोड- ओशो तपस्वी स्वामी आनन्द अरुणले सबै मानव भगवान भएको बताएका छन्। सोमबार झापाको विर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सबै मानव भगवान भए पनि सबै जागृत नभएको बताए।

अरुणले भने, ‘सबै मावन भगवान हुन् तर सुतेका हुन्। जागृत हुनका लागि ध्यान गर्नुपर्छ।’ उनले मान्छेमा भगवानको रुप जागृत गराउनका लागि अन्तरदृष्टि क्षमता बढाउनुपर्ने बताए।

अन्तरदृष्टि बढाए हरेक मानिस ‘ब्रह्म’ स्वरुप हुने उनको दाबी छ। ओशोले पनि त्यही अन्तरदृष्टिको क्षमताको विकास गरेकाले उनलाई ‘वैज्ञानिक युगको बुद्ध’ भनिएको स्वामी अरुणले बताए।

अहिले ओशो जागरण अभियानका क्रममा स्वामी अरुण पूर्वी नेपालमा छन्। पूर्वका ओशो सन्यासीहरुलाई उनले प्रशिक्षित पनि गरिरहेका छन्।

मानिसको जीवन तनावमय रहेको वर्तमान अवस्थामा दिव्य ज्ञान नै त्यस्को अचुक उपाय भएको उनको भनाइ छ। उनले भने, ‘जीवनमा चैन ल्याउनका लागि दिव्य ज्ञान चाहिन्छ।’ जंगली मनोविज्ञानका कारण मानिसको जीवन सार्थक बन्न नसकिरहेको उनले बताए।

पहिलाका ऋषिमुनीहरुले अन्तरमनले पत्ता लगाएका र अहिले विज्ञानका उपकरणले पत्ता लगाएका आविष्कारमा खाख फरक नपरेको स्वामी अरुणको भनाइ छ। सहभागीहरुको जिज्ञासामा उनले विज्ञान भन्दा ऋषिमुनीहरुको दृष्टि नै शक्तिशाली भएको उनले बताए।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्