खतिवडाको एक बोलीले नेप्से परिसूचकमा ५२ अंकको पहिरो

काठमाडौं-अर्थमन्त्री युवराज खतिवडाको एक बोलीले नेप्से परिसूचकमा ५२ अंकको पहिरो गएको छ। यति ठुलो अंकमा एकै दिन नेप्से परिसूचक धेरै पछि ओरालो लागेको हो।

खतिवडाले विराटनगरमा उद्योगीहरु सँगको अन्तरक्रियामा अस्वभाविक रुपमा बढेको सेयर बजार करेक्सन भइरहेको बताएका थिए।

खतिवडाकै प्रतिक्रियाले बजार ओरालो लागेको लगानीकर्ताले आरोप लगाएका छन्।

सोमबार कारोबार सुरु भएको ४० मिनेटमै नेप्से परिसूचक ३ प्रतिशतले ओरालो लाग्दा सर्किट ब्रेकर लागेको थियो।

पहिलो सर्किट ब्रेकर पछि सम्हालिएको बजार धेरै समय टिक्न सकेन। करिब २० मिनेट उकालो लागेको बजार सम्हालिन नसक्दा नेप्से परिसूचक ११६८.५५ पुगेर रोकिए।

ठुलो अंकले घटेको बजारमा १ सय ५७ कम्पनीको  ४७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

५२ अंकले नेप्से परिसूचक ओरालो लाग्दा पनि प्रोग्रेसिभ फाइनान्स ९.८६ प्रतिशत र स्वदेशी माइक्रोफाइनान्स १.९२ प्रतिशतले उकालो लागे।

सोमबार कारोबार भएका १ सय ५७ कम्पनी मध्ये १ सय ५५ कम्पनीको मूल्य भने ओरालो लाग्यो। सबै भन्दा धेरै एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशतले ओरालो लाग्यो।

घटेको बजारमा ५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार नेपाल लाइफ इन्स्योरेन्स धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।

‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स १०.७६ अंकले ओरालो लाग्दा सेयर बजार मापक उपसूचकहरु पनि ओरालो लागेका छन्।

सोमबारको गिरावट पछि बजार पुँजीकरण १३ खर्ब ६८ अर्ब रुपैयाँमा पुगेको छ।  प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भएका दिन नेप्से परिसूचक १४२४.९५ अंक  र बजार पुँजीकरण १६ खर्ब ६६ अर्ब रुपैयाँ थियो।

ओलीको आगमन पछि नेप्से परिसूचक २५६.४ अंकले ओरालो लाग्दा बजार पुँजीकरण  २ खर्ब ९८ अर्बले घटेको छ।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्