क्याटलोनियाका पूर्व नेता पक्राउ गरेकोमा विरोध

कोपेनहेगन- क्याटलोनियाका पूर्व नेतालाई पक्राउ गरिएकोमा क्याटलोनियाली स्वतन्त्रता पक्षधरले विरोध गरेका छन्।

पूर्व नेता कारलस पुजमोनलाई आइतबार पक्राउ गरी जर्मनीमा हिरासतमा राखिएको समाचार आएको छ। क्याटलोनियाका पूर्व पृथकतावादी अन्य नेताहरुले उनको पक्राउको विरोध गरेका हुन्।

पुजमोनका वकिलले उनलाई नियन्त्रणमा लिइएको समाचार सार्वजनिक गरेका डेनमार्कबाट प्राप्त समाचारमा जनाइएको छ। क्याटलोनियाका अरु नेताहरुले उनको पक्राउको विरोध गरेका स्पेनबाट प्राप्त समाचारमा जनाइएको छ।

बेल्जियमतर्फ जाने क्रममा डेनमार्कको सीमा क्षेत्रनजिक उनलाई नियन्त्रणमा लिइएको उनका वकिलले जानकारी दिए। उनी बेल्जियममा रहेका  बताइएको थियो।

क्याटलोनियालाई स्पेनबाट अलग गराउने पक्षमा जनमत संग्रह गराएको भनी उनीमाथि आरोप छ। गत वर्षको अक्टोबरमा भएको सो जनमत संग्रहपछि उनी बेल्जियमा निर्वासनमा रहे।

उनलाई स्पेन सरकारले देश टुक्र्याउन खोजेको भन्दै राज्यद्रोहको मुद्दा लगाएको छ। उनी देश फर्किएमा स्पेन सरकारले राज्यद्रोहको मुद्दामा नियन्त्रणमा लिनेछ।

क्याटलोनियामा भएको जनमत संग्रहमा जनताले स्पेनबाट टुक्र्याएर अलग गराइने पक्षमा मतदान गरेका बताइएको थियो। तर संकट लगाएर पृथकतावादीहरुलाई निस्तेज पारिएको थियो।

त्यहाँ स्पेनको केन्द्र सरकारले प्रत्यक्ष शासन लागू गरेको छ। त्यसलगत्तै त्यहाँको संसद् र सरकार पनि भंग भएको थियो।

त्यसैगरी क्याटलोनिया स्पेनमै रहिरहनेछ भन्ने स्पेनी राजाको अभिव्यक्तिपछि पनि यहाँको पृथकतावादी आन्दोलन कमजोर भएको हो। हाल त्यहाँको सरकार निलम्बन गरिएको छ भने यसअघि गरिएको भनिएको जनमत संग्रहको परिणामलाई अवैध घोषणा गरिएको छ।

त्यस लगत्तै त्यहाँ नयाँ चुनाव गराइएको थियो। त्यस निर्वाचनमा भने स्वतन्त्रताका पक्षधर दलहरूले निर्वाचनमा बहुमत हासिल गरेका थिए।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्