सुर्खेतको ठूलो ताल सुक्न थाल्यो

बराह ताल। तस्बिरहरु: डिलप्रसाद शर्मा

सुर्खेत- सुर्खेतको सबैभन्दा ठूलो बराहतालको प्रचार–प्रसार अभावले ओझेलमा परेको छ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट ३१ किलोमिटर पश्चिम रहेको सुन्दर बराहताल संरक्षण र प्रचार अभावले ओझेलमा परेको हो।

प्राकृतिक सुन्दरता, २५ प्रजातिका चरा पाइने, जंगलको बिचमा रहेको र जंगली जनावरसमेत अवलोकन गर्न पाइने तालको विशेषता हो।

घना जंगलको बीचमा १६ विगाह क्षेत्रफलमा फैलिएको उक्त ताल अहिले फोहोर बनेको छ। उचित संरक्षणको अभावले वर्षेनी तालको आकार सानो हुँदै गएको छ। विगतको तुलनामा तालको पानी समेत सुक्दै गएको छ।

स्थानीय जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले प्रचारकै अभावमा बराहताल ओझेलमा परेको बताए।

‘बराहतालको प्रचार र संरक्षणमा लगानी गरौं’ उनले भने, रारा जाने पर्यटकलाई बराहतालमा पनि रोक्न सकिन्छ। पर्यटकको आकर्षण बढेमा आम्दानी बढ्नेछ, यसले स्थानीयको जीवनस्तर नै बदलिनेछ।’

तालसम्म पुग्न सडक नभएकाले पनि बराहतालको सौन्दर्यता अवलोकनका लागि पर्यटकहरु जान सकेका छैन। डाँडाकाडाले घेरिएको बराहताल वरिपरि जंगल छ। यसले गर्दा विभिन्न प्रजातिका चराहरूले पर्यटकलाई बोलाइरहेका छन्। तर, तालको संरक्षण र प्रचार–प्रसार अभावले आन्तरिक पर्यटकसमेत भित्रिन सकेका छैनन्।

संघीय संरचना अनुसार अधिकार सम्पन्न स्थानीय सरकारले तालको संरक्षणलाई प्राथमिकतामा राखिएको जनाएको छ। गाउँपालिकाले पर्यटन प्रवद्र्धन र पर्यटकीय क्षेत्रमा हुने लगानीलाई प्राथमिकता दिएको अध्यक्ष तेजबहादुर वस्नेतले बताए। सुन्दर मनोरम वातावरण भएको उक्त क्षेत्र पर्यटकीय अकर्षणको केन्द्रविन्दु बन्न सक्ने भन्दै प्रचार–प्रसारका लागि बराहताल गाउँपालिकाले महोत्सवहरु आयोजना गर्ने उनले बताए।

धार्मिक र पर्यटकीय सम्भावना बोकेको बराहतालको संरक्षण र प्रचारप्रसारका लागि गाउँपालिकाले पर्यटन महोत्सवको आयोजना गर्ने तयारी थालिएको हो। गाउँपालिकाका अध्यक्ष बस्नेतले भने,‘बराहतालमा पर्यटनका थुप्रै सम्भावना छन्, हामीले पर्यटकलाई त्यहाँ लैजाने कसरत थालेका छौं। पर्यटनबाटै गाउँपालिकाले आम्दानी गर्नेछ, अब रारा जाने पर्यटकहरू एकपटक बराहताल पनि पुग्नेछन्।’ पर्यटनबाटै गाउँपालिकाको समृद्धि सम्भव भएकाले यसलाई पहिलो प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाइ छ।

महोत्सवको माध्यमबाट सबैको ध्यान बराहतालतर्फ केन्द्रित गर्ने र त्यहाँ पुग्ने पर्यटकको सुझावका आधारमा बराहतालमा पर्यटन विकासका लागि गुरुयोजना बनाउने गाउँपालिकाको तयारी छ। यही चैत २३ देखि २७ गतेसम्म तरंगास्थित भेरी नदीको किनारमा महोत्सव संचालन हुने गाउँपालिकाले जनाएको छ।

बराह ताल।
चैत्र १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्