सत्ता पक्षकै सांसद खतिवडाले सोधे, ‘पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण जानकारी खोइ?’

काठमाडौं- सरकारकै नेतृत्व गरिरहेको दल एमालेका सांसद विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीको भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

सोमबारको संसद बैठकमा नियम आपत्ति गर्न समय लिएका खतिवडाले विषयान्तर गर्दै पाकिस्तानी प्रधानमन्त्री अब्बासीले फागुन २१ गते एक दिन गरेको नेपाल भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका हुन्।

एमाले सांसद भए पनि उनले भ्रमणबारे जानकारी नपाएको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको आलोचना गरे। खतिवडाले भने, ‘प्रधानमन्त्रीले अघिल्लो बैठकमा त्यसबारे जानकारी दिनुहुन्छ भन्ने लागेको थियो। तर विमान दुर्घटनाको विषयका कारण ओझेलमा पर्‍यो भन्ने ठानियो, आज पनि त्यस विषयमा सरकारले जानकारी किन नदिएको ?’

उनले सार्वजनिक साचोको विषयमा संसदले जानकारी नपाउने हो भने संसदले आफ्नो अधिकार गुमाउँदै जाने बताए। उनले भने, ‘संसदले सूचना पाउनुपर्छ। पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणमा के भयो ? कि भारतीय विदेश मन्त्री शुष्मा स्वराजको भ्रमण जस्तै भ्यालेन्टाइन भ्रमण मात्रै हो?’

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्