बन्न थाल्यो अत्याधुनिक सुटिङ रेन्ज

नेपालगञ्ज– आगामी मंसिरमा पाँच नम्बर प्रदेशको बाँके, बर्दिया र दाङमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अत्याधुनिक सुटिङ रेन्ज निर्माणको शुरुवात गरिएको छ।

पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार नेपालगञ्जको रंगशाला परिसरमा सुटिङ रेन्जको शिलान्यास गरेका हुन्। सो अवसरमा मुख्यमन्त्री पोखरेलले पाँच नम्बर प्रदेशमै हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने उद्घोष गरे।

खेलकुदमा अनुशासन जरुरी हुने र यसका लागि समूहगत तालमेलको आवश्यकता अति हुने भन्दै मुख्यमन्त्री पोखरेलले यतिबेला स्थानीय, प्रदेश र संघमा विकास, सुशासन र जनतालाई दिने सेवा प्रवाहमा प्रतिस्पर्धासँगै तालमेलको जरुरी रहेको बताए।

मुख्यमन्त्री पोखरेलले जबसम्म संस्थागत रुपमा खेलाडी प्रतिभाहरु अगाडि आउन सक्दैनन्, तबसम्म खेलकुदको विकास हुन नसक्ने बताए। ‘अहिलेसम्म नेपालमा खेलाडीहरु संस्थागत रुपमा अगाडि आउन सकेका छैनन्, आफ्नै बलबुताले आएका छन्, पोखरेलले भने, स्थानीय तहले विद्यालय र प्रदेशले कलेजस्तरमा खेलक्षेत्रलाई बिस्तार गर्न जरुरी छ।’

उनले खेलकुदले सभ्य समाज निर्माणमा ठूलो भूमिका खेल्ने बताए। युवालाई दुर्व्यसन, कुलत र कुसंस्कारबाट मुक्त गराउन खेल क्षेत्रले ठूलो सहयोग पुर्‍याएको पोखरेलले बताए।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले आगामी असारसम्ममा सुटिङ रेञ्ज निर्माण गरिसक्ने बताए। १३ जना खेलाडीले एकैपटक खेल्न सक्ने सुटिङ रेञ्ज निर्माणका लागि ६१ करोड रुपैँयाको टेण्डर भएको छ।

क्षेत्रीय अध्यक्ष वलीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी नेपालगञ्जमा १५ करोड ६६ लाखको पौडी पोखरी, ५५ लाखको भारोत्तोलन एकेडेमी निर्माण भइसकेको छ । त्यसका साथै रंगशालाको पुननिर्माण धमाधम भइरहेको छ । समयमै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न राखेप जोडतोडका साथ लागि परेको छ ।

सुटिङमा नेपालगञ्ज अब्बल
मध्यपश्चिम अर्थात नेपालगञ्ज सुटिङमा सधैं मेडल ल्याउने ठाउँ मानिन्छ । गएको सातौंमा पनि सुटिङमा सबैभन्दा धेरै गोल्डमेडल यहीका खेलाडीले ल्याएका थिए ।

२०४२ सालदेखि नेपालगञ्जका खेलाडीले सुटिङका प्रतियोगिताहरुमा मेडल ल्याइरहेका छन् । क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष एवं सुटिङका खेलाडी नरेन्द्र थापाका अनुसार, नेपालगञ्जका पार्वती थापा र अनिता श्रेष्ठ सुटिङमा देशकै चर्चित खेलाडी हुन् । थापाले सन् १९८८ मा कोरियामा भएको ओलम्पिकमा भाग लिएकी थिइन् ।

श्रेष्ठले सन् १९९१ मा श्रीलंकामा भएको पाँचौंं साउथ एसिया प्रतियोगितामा गोल्ड मेडल जितेकी थिइन् ।

नेपालगञ्जबाट अहिलेसम्म कम्तीमा १८ जना खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर मेडल जितेका छन् । ‘नेपालगञ्ज सुटिङको हब नै हो, उपाध्यक्ष थापाले भने, यहाँबाट प्रतियोगिता खेलेका सबैजसोले पदक जितेका छन् ।’

सुटिङको हब भएपनि यहाँ साधन स्रोत भने छैन । दैनिक नै १० देखि १२ जना खेलाडीले अभ्यास गर्ने नेपालगञ्जमा एउटा राइफल र एउटा पेस्तोलमात्रै छ । त्यो पनि राम्रो छैन । खेलाडीहरु अभ्यास गर्न आउदा बिग्रेका बन्दुकले निसाना लगाउने गर्दछन् । ‘बिग्रेका बन्दुक उठाएर हातको ब्यालेन्स मिलाउँछन्, एउटा पेस्तोल र एउटा राइफल छ, त्यसबाटै अभ्यास गर्छन्, थापाले भने, अब सुटिङ रेन्ज बनेपछि अत्याधुनिक तरिकाले अभ्यास हुन्छ ।’

मुख्यमन्त्रीले जुत्ता लगाएरै पूजा
पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सुटिङ रेञ्जको सिलान्यास जुत्ता लगाएरै गरेका छन् ।

पण्डितले पूजापाठ गर्दा मुख्यमन्त्रीले जुत्ता खोलेनन् । जुत्तासँगै पूजा गरे । मुख्यमन्त्रीले जुत्ता नखोलेपछि कानेखुशी भएपनि भन्ने आँट कसैले गरेनन् ।

प्रधानमन्त्री रहँदा नै शेरबहादुर देउवाले कैलालीको एक मन्दिरमा जुत्ता लगाएर पूजा गरेका थिए । त्यसलगत्तै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जुत्ता नै लगाएर पूजा गरे । त्यही सिको टिप्दै मुख्यमन्त्री पोखरेलले पनि जुत्ता खोलेनन् ।

‘होइन, जुत्ता नै नखोली पूजा गर्ने चलन आएछ कि क्या हो ?’ नेपालगञ्ज रंगशालामा सोमबार बिहान कानेखुशी चल्यो।

सुटिङ रेन्ज शिलान्यास गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल। तस्बिरहरु: कुमार श्रेष्ठ
चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्