कर्ण शाक्यको पुस्तक- हाम्रो नेता यस्तो होस्!

कर्ण शाक्यको पुस्तक विमोचन गर्दै एमाले नेतृ अष्टलक्ष्मी शाक्य र नेपाली कांग्रेसका नेता गगन कुमार थापा ।तस्बीर/ दीपा दाहाल

काठमाडौं – उद्यमी एवं सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यले आफ्नो जन्मदिनको अवसर पारेर ‘हाम्रो नेता यस्तो होस्’ भन्ने पुस्तक सार्वजनिक गरेका छन्।

शाक्यको महाराजगञ्जस्थित निवासमा सोमबार आयोजित एक विशेष कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य र नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संयुक्तरुपमा उक्त पुस्तकको विमोचन गरेका छन्।

सकारात्मक सोचले व्यक्तिलाई सफल बनाउने र त्यसैबाट संगठित समाज र देशको निर्माण हुने धारणा राख्दै छोटो समयमै सकारात्मक कोष खडा गरी समयमै मुलुकभर ८० वटा समूह निर्माण गरिसकेका शाक्यले नेता नसुध्रे, देश नबन्ने भएकाले उनीहरु राष्ट्रहितको लागि मनमा इमान्दारी, काँधमा जिम्मेवारी र दिमागमा समझदारी हुनैपर्ने उनले पुस्तकमार्फत सुझाएका छन्।

यस्तै समाज र देशको हितको लागि कहिले काहिँ नेताहरुमा कुटनीतिक चातुर्य पनि आवश्यक पर्ने उनको सुझाव छ। शाक्यले नेतृत्वको व्यक्तित्व, आचार व्यवहार, मानसिकता,अध्ययन र उद्यमशीलता लगायत शीर्षकमा एक सय एक वटा सुझाव नेताका लागि उनले पस्केका छन्।


शाक्यको पुस्तक विमोचन समारोहमा नेतादेखि उद्यमी, समाजसेवी, चिकित्सक लगायतको सहभागिता थियो। पुस्तक विमोचनपछि शाक्यले आफ्नो सकारात्मक सोच अभियानको विस्तार र यसबाट प्रभावित मानिसको संख्या बढ्दै गएको बताए।


उनले भने, ‘जव हामी कुनै कामको श्रेय म नभएर हामीलाई दिन्छौं, त्यही हुन्छ सकारात्मक सोचको विकास र त्यसले आफूलाई मात्र बनाउँदैन समाज र देशलाई नै सफलतातर्फ उन्मुख गराउँछ।’

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्