उत्तर कोरिया–चीन सम्बन्ध

रेल चढेर किम जोङ–उन बेइजिङ, भ्रमण गोप्य

जापानी सञ्चारमाध्यमले जनाए अनुसार उत्तर कोरियाका नेता किम जोङ–उन एक विशेष रेल मार्फत चीन पुगेका छन् ।

चीनलाई उत्तर कोरियाको एक मात्रै सहयोगी देशको रुपमा लिने गरिएको छ । तर उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण सम्बन्धमा केही उतारचढाव भने आएको विश्लेषण गरिएको छ ।

सन् २०११ मा सत्ता सम्हालेदेखि उत्तर कोरियाबाट बाहिर नगएका नेता किम पहिलो पटक चीन गएको जापानी सञ्चारमाध्यमको दाबी छ । तर यसको उत्तर कोरिया तथा चीनले स्वतन्त्र पुष्टि भने गरेका छैनन् ।

ब्लुमबर्ग न्युजले नाम नखुलाइएका तीन स्रोतलाई उद्धृत गर्दै विशेष रेलमा बेइजिङ पुगेका उत्तर कोरियाका विशिष्ट अधिकारी अरु कोही नभई नेता किम नै रहेको दाबी गरेको छ ।

तर अहिलेसम्म चीन तथा उत्तर कोरियाका सरकारी सञ्चार माध्यमले यो भ्रमणबारे केही बताएका छैनन् । तर तय भएको भनिएको भ्रमण महत्वपूर्ण कुटनीतिक सम्बन्धको विकास रहेको विश्लेषण गरिएको छ ।

दक्षिण कोरिया सरकारका प्रवक्ताले यस विषयमा आफूहरुले सम्बन्धित देशसँग नजिकबाट बुझ्ने प्रयास भइरहेको र अवस्था नियाली पनि रहेको बताएका छन् ।

जापानको टोकियोमा रहेको निप्पोन न्युज नेटवर्कले सार्वजनिक गरेको भिडियो फुटेजमा रेलको हरियो डब्बामा पहेँलो लाइन रहेको देखाइएको छ ।

यो किमका बुवा किम जोङ–लीले प्रयोग गर्ने रहेको दाबी गरिएको छ । किमका बुवा पनि चीन भ्रमणमा यसरी नै गएका थिए र उनी चीनबाट फर्किएपछि मात्रै यसबारे जानकारी दिइएको थियो ।

बेइजिङ रेल–वे स्टेसन नजिकै रहेका एक पसलेले विशेष रेल आउने बेला अरु दिन भन्दा फरक व्यवस्थापन देखिएको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

उनले भनेका छन्, ‘त्यहाँ धेरै प्रहरी अधिकारी तैनाथ थिए । बाहिर प्रहरी थिए भने स्टेसन अरुका लागि बन्द गरिएको थियो ।’

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्