डरलाई जित्ला ब्राजिलले ?

साइन्स फिक्सनमा सम्भव देखिएको मात्रै हो, वास्तविक जीवनमा घडीको सुईलाई उल्टो घुमाएर बितेको समयमा पुग्न सकिँदैन ।

यदि यो सम्भव हुँदो हो त ब्राजिलको फुटबल टिमले चार वर्ष अघि गएर जर्मनीसँग हारको बदला लिन्थ्यो होला । तर बितेको समय बितिसक्यो, न फर्किन्छ न त्यहाँ पुग्न सकिन्छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति ब्राजिलले जर्मनीसँग खेल्दैछ । चार वर्ष अघि घरेलु मैदानमा भएको विश्वकप फुटबलमा जर्मनीसँग ब्राजिलको नमिठो अनुभव छ ।

सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७–१ ले हरायो । त्यसपछि यी दुई देशबिच पहिलो पटक मंगलबार राति मैत्रीपूर्ण खेलमा भेट हुँदैछ । घरेलु मैदानमा भएको खेलमा ब्राजिल पराजित मात्रै भएन, आफ्नो लाज नै गुमाउने गरी हार्‍यो ।

घरेलु मैदानमा विश्वकपको सेमिफाइनलमा हारेको ब्राजिल मंगलबार राति बर्लिनमा जर्मनीसँग खेल्दैछ । ब्राजिल त्यस बेला पनि नेइमार बिना थियो र अहिले पनि नेइमार बिना नै मैदानमा जाने छ । नेइमार उ बेला पनि चोटग्रस्त थिए र अहिले पनि ।

अहिले प्रशिक्षकको रुपमा ब्राजिलको टिम सम्हालिरहेका छन् टिटेले । उनले त्यो हार डरलाग्दो रहेको बताएका छन् । उनले भने, ‘७–१ को हार निकै भयानक बन्यो । मानिसहरु अझै पनि त्यसबारे कुरा गर्दै छन् । जति धेरै कुरा हुन्छ, त्यति नै डर हराउँदो रहेनछ ।’

बर्लिनमा मंगलबार राति हुने खेल चार वर्षदेखि ब्राजिल र ब्राजिलियन टिमका समर्थकलाई तर्साउने बनेर बाँचेको डरलाई हराउने अवसर रहेको उनले बताए ।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्