सेयर बजार अचानक ३९ अंकलेे उकालो लाग्यो

काठमाडौँ- सोमबार ५२ अंकले ओरालो लागेको नेप्से परिसूचक मंगलबार ३९ अंकले उकालो लागेको छ।

साताको तेस्रो कारोबार दिन २ घण्टामै ३२ अंकले ओरालो लागेको परिसूचक अन्तिम दुई घण्टामा ७३ अंकले उकालो लागेको हो।

मंगलबार १ बजेपछि ७३ अंकले नेप्से परिसूचक उकालो लागेको हो।

केही सञ्चारमाध्यममा सरकारले श्वेतपत्र मार्फत सेयर बजारलाई सम्बोधन गर्दैछ भन्ने समाचार प्रकाशित गरेकाले नेप्से परिसूचक उच्च अंकले बढेको हुन सक्ने एक ब्रोकरले बताए।

उनले भने, ‘बजारमा बिभिन्न हल्ला चलाएर बजारलाई प्रभावित पर्ने समूह सक्रिय छ, यस्तो अवस्थामा लगानीकर्ता सचेत नहुने हो भने ठूलो नोक्सानी बेहोर्न सक्छन्।’

यस्तै मर्चेन्ट बैंकर पनि सेयर बजारलाई चलखेल गर्ने समूहले नै सेयर बजारलाई प्रभावित पारेको बताउँछन्।

उनले भने, ‘सरकारले निर्णय गर्दै केही सुधारको सुरुवात नै गरेको भए बजार बढ्नु सामान्य थियो तर जसरी एकै दिनमा उच्च अंकले परिसूचक घटदै र बढदै छ त्यो जोखिमपूर्ण हुन सक्छ।’

उनी भन्छन्, ‘तरलता समस्या समाधान हुँदै ब्याजदर सहज नहुँदासम्म बजार प्राकृतिक रुपमा बढ्दैन। उच्च अंकले बढेको बजारमा १ सय ६६ कम्पनीको ५० करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

मंगलबार कारोबार भएका १ सय ६६ कम्पनीमा २८ कम्पनीको मूल्य मात्र ओरालो लागेको छ। १० करोड रुपैयाँको कारोबार गरेको नेपाल लाइफ इन्स्योरेन्स धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। मंगलबार क बर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ८ अंकले उकालो लाग्यो। यस्तै ट्रेडिङ बाहेकका सेयर बजार मापक उपसुचकहरु उकालो लागेका छन् । अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर उच्च दरमा नेप्से परिसूचक ओरालो लागेको भन्दै राष्ट्रिय सभामा पनि कुरा उठेको थियो।

 

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्