जनयुद्धकी लडाकु राईको गोलीको छर्रा निकाल्न सहयोगको याचना

पाँचथर-सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँडिरहेकी एक पूर्व लडाकुले उपचारका लागि सहयोगको याचना गरेकी छिन्।

ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा जन्मिएकी अनुपा राईले १५ वर्षअघि लागेको गोली अहिलेसम्म पनि शरीरमै बोकेर हिँडिरहेकी छिन्।

युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन लडाकु मनकुमार राईसँग पार्टीभित्रै विवाह गरेकी अनुपा अहिले पाँचथर सुभाङमै बस्छिन्। उनका श्रीमान् बिगत चार वर्षदेखि मलेशियामा वेल्डिङको काम गर्दै आएका छन्।

अनुपालाई २०५९ वैशाख २४ मा भोजपुरको चैनपुर युद्धका क्रममा गोली लागेको थियो।उनको टाउको र देब्रे छातीमा रहेका छर्राले अहिले धेरै पीडा दिन थालेको छ। “यसैको कारणले होला खुट्टा निदाउँछ, चलाउनै गाह्रो हुन्छ”, फिदिममा पत्रकारसँग कुराकानी गर्दै अनुपाले भनिन्।

विसं २०५७ मा ओखलढुंगाको कुइभीर माविमा ९ कक्षा पढ्दापढ्दै युद्धमा होमिनुभएको थियो अनुपा, जतिबेला उनी १५ वर्षकी थिइन्। “स्कूलमा भएको एक कार्यक्रममा गरीब, दुःखीको मुक्ति हुन्छ भन्‍ने नेताहरुको भाषणबाट प्रभावित भएर एकैपल्ट १५ जना युद्धमा लागेका थियौँ”,उनले भनिन्,“२०६३ सालमा छोरा जन्मेपछि पार्टीको शैन्य फाँट छोडेर आफ्नो छापामार जीवनकलामा पाँच वटा युद्ध लडेँ।”

विसं २०५८ मंसिर १० मा सोलुखुम्बु, २०८५ माघ २२ मा काभ्रेको भकुण्डे आक्रमणमा अनुपाले वीरतापूर्वक लडिन्। विसं २०५९ वैशाख २४ मा भोजपुरको चैनपुर आक्रमणमा गम्भीर घाइते हुँदापनि युद्धबाट फर्किने मन बनाएकी अनुपाले, घाइते भएपछि पनि २०५९ भदौ २२ मा सिन्धुलीको भिमान र १० कात्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमण उनले लडेको अन्तिम युद्ध हो।

‘रणसंग्रामबाट नयाँ जीवन पाएर फर्केकी थिएँ” आफू घाइते भएको चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भने, ‘साथीहरुले म मरेको रिपोर्ट कमाण्डरकहाँ पुर्‍याएछन् त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरेछ।’ गोली लागेर बेहोस भएकी उहाँ छ दिन जंगलमै बसेर पार्टीको सम्पर्कमा पुगेकी थिइन्।

उहाँ शहीद भएको खबर घरसम्म पनि पुग्यो तर काजकिरियाचाहिँ गरिएनछ घरमा, माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाडौँको लाइफ केयर अस्पतालसम्म पगिन् तर छर्रा निकाल्न सकिएन। द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालय आएर फाराम भरेपनि अहिलेसम्म कहीँ कतैबाट पनि क्षतिपूर्ति नपाएको उनले बताइन्।

आफ्नो उपचारका लागि कहाँ पुग्नुपर्छ, कति खर्च लाग्छ त्यो पनि आफूलाई थाहा नभएको उनको भनाइ थियो। अहिले टाउको र छातीमा रहेको छर्राका कारण दिनदिनै गाह्रो हुँदै गएको अनुपाको दुखेसो थियो।

पार्टीले आफ्नो उपचार गरिदिन्छ भन्नेमा उनी अझै आशावादी हुन्।’हाम्रै कारणले मुलुकमा यतिसम्म परिवर्तन भयो, फेरि पनि पार्टी सत्तामा पुगेको छ, म र मजस्ता अन्य युद्धमा पीडित भएकालाई पार्टीले हेर्नुपर्छ”, अनुपाले पत्रकारसँग भने, ‘मेरो कुरा तपार्इंहरुमार्फत पार्टीका ठूला नेतासम्म पुग्छ भन्‍ने विश्वास छ।’

माओवादी केन्द्रका हिलिहाङ गाउँपालिका इन्चार्ज रविन तिम्सिनाले भन्नुभयो, शुरुमा पार्टीले द्वन्द्वपीडितको विवरण संकलन गर्ने क्रममा अनुपाको नाम छुटेकाले राज्य पक्षबाट कुनै किसिमको सहयोग जुटाउन नसकिएको तर उहाँको उपचार जसरी पनि हुनुपर्छ भनेर लागिरहेको उनको भनाइ थियो ।

अनुपाका १२ वर्षीय छोरा अहिले फिदिमस्थित नयाँ नमूना मावि कक्षा–७ मा पढ्दैछन् भने उनी सुभाङमै सासूआमासँग बस्दै आएकी छिन्।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्