आगलागी दिनप्रतिदिन बढ्‍दै, दमकललाई भ्याइनभ्याइ

भक्तपुर- दैनिक आगलागीका घटना बढेपछि जुद्धवारुणयन्त्र भक्तपुरका दमकललाई भ्याइनभ्याइ भएको छ।

भक्तपुरदेखि काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकसम्म सेवा दिँदै आएको यहाँको दमकललाई आगलागीका घटना बढेपछि आगो नियन्त्रण गर्न समस्या देखिएको छ।

दैनिक चार आगलागीका घटना हुने बताउँदै जुद्धवारुणयन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले गर्मीयाम बढेसँगै आगलागीका घटना बढेको बताए। उनले भन्नुभयो, “दैनिक चार वटासम्म आगलागीका घटना भएका छन्, एक सातायता १४ वटा आगलागीका घटना भए, कुनै दिन त दमकलले विश्राम नै पाउँदैन।’

विगतमा एउटा मात्रै चल्ने अवस्थामा रहेको दमकललाई मर्मत गरेर अहिले तीन दमकल चल्ने बनाइएको बताउँदै उहाँले आज मात्रै सूर्यविनायकको बालकुमारी सामुदायिक वन, झौखेल, भक्तपुर र काभ्रेपलाञ्चोकको नाला गुम्बा नजीकै भएको आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए।

कतिपय अवस्थामा साँघुरा सडक र गल्लीभित्र जान दमकललाई समस्या पर्ने गर्दा आगलागी नियन्त्रणमा समस्या आउने गरेको कार्यालय प्रमुख धौभडेलको भनाइ छ। वारुणयन्त्रको पुरानो दुई दमकल मर्मत गरेर चल्ने अवस्थामा पुर्‍याइएको र एक दमकल मध्यपुरथिमि नगरपालिकाले दिएपछि आगो नियन्त्रणमा जान सहज भएको हो।

आगलागीका घटना बढेपछि कार्यालय प्रमुख धौभडेलले कर्मचारीको सुरक्षाका लागि आगोले नजल्ने सेफ्टी ज्याकेट तथा जुत्तासमेत ल्याएर परिचालन गरिएको छ।

उनले भने, ‘दमकल र कर्मचारीलाई २४ सै घण्टा अलर्टमा राखेका छौं, उनीहरुको सुरक्षाका लागि पोशाकको पनि व्यवस्था गरिएको छ।’ सबै बस्तीमा जाने सडक फराकिलो पार्नु जरुरी रहेको बताउँदै उनले स्थानीय सरकारलाई यसतर्फ ध्यान दिन उनले आग्रह गरे।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्