महासंघले सरकारलाई मुलुकको आर्थिक समृद्धिको मार्गचित्र दिने

नेपालगञ्ज – नेपाल उद्योग बाणिज्य महासंघले प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई एकै थलोमा भेला गरेर ‘मुलुकको आर्थिक समृद्धिको मार्गचित्र’ दिने तयारी गरेको छ।

प्रदेशहरुमा प्रादेशिक बहस कार्यक्रम गर्दै हिडेको महासंघले चैत्र २८ गते उद्योग बाणिज्य दिवस तथा महासंघको ५३ औं वार्षिक साधारण सभाको अवसरमा विशेष समारोह आयोजना गरी प्रधानमन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरुको उपस्थितिमा मुलुकको आर्थिक समृद्धिको मार्गचित्र दिने अध्यक्ष भवानी राणाले बताइन् ।

महासंघले अहिलेसम्म ४, ५, ६ र ७ नम्बर प्रदेशमा प्रादेशिक बहस सम्पन्न गरिसकेको छ । १, २ र ३ नम्बर प्रदेशमा २१ गतेभित्र सम्पन्न गर्ने तालिका बनाइएको छ । महासंघकी अध्यक्ष राणाका अनुसार, अहिलेसम्म बहस भएका प्रदेशका प्रमुखले आ–आफ्ना क्षेत्रमा लगानीकर्ताहरुलाई स्वागत गर्न आतूर रहेको, लगानी आकर्षणका लागि आवश्यक ऐन कानूनहरु ल्याउन प्रतिबद्ध रहेको, प्रादेशिक आर्थिक समृद्धिमा प्रदेश सरकारबाट ल्याइने ऐन÷ नियमावलीहरुमा प्रदेश उद्योग बाणिज्य महासंघलाई सहभागी गराएर लैजाने र आर्थिक समृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता आएका छन् । कार्यक्रमहरुमा उद्योग स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने, औद्योगिक, पर्यटन पूर्वाधार तयार गर्ने तथा दोहोरो कर नलगाउने सुनिश्चितता गराइएको छ ।

प्रदेश सरकार निजी क्षेत्रसँग सहकर्या गर्न प्रतिबद्ध छ भन्ने बलियो सन्देश आफूहरुले पाएको महासंघले जनाएको छ । अध्यक्ष राणाले प्रदेश सरकारसहित संघीय सरकारसमेत अब लगानीको वातावरण बनाउन केन्द्रित हुने विश्वास गरिन् ।

नेपालगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राणाले मुलुक सबैप्रकारको अस्थिरताबाट मुक्त भएकाले अबको एकमात्रै एजेन्डा विकास र समृद्धि नै भएको बताइन् । ‘सबै राजनीतिक मुद्दाहरु सकिएका छन् । अब मुलुकको एकल एजेन्डा आर्थिक विकास नै हो । हामी सबैको प्रयास मुलुकको समृद्धि नै हुनुपर्छ, अध्यक्ष राणाले भनिन्, महासंघले आफ्ना प्रदेश च्याप्टरहरुमार्फत देशैभर आर्थिक समृद्धिको, आर्थिक विकासको अभियान थालनी गरिसकेका छौं ।’

महासंघले अहिलेसम्म मुलुकको नेतृत्व तहमा पुग्नेहरुको अदूरदर्शिता, अस्थिर सरकार, सुशासनको अभाव, लामो द्वन्द्व, पछिल्ला पटक कायम लामो संक्रमणकाललगायतले मुलुकको प्रगतिका लागि प्रमुख बाधक भएको जनाएको छ ।

औद्योगिक क्षेत्र र पर्यटन विकास

नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालगञ्जलगायत पाँच नम्बर प्रदेशको विकासका लागि औद्योगिक क्षेत्र र पर्यटन विकासले ठूलो टेवा पु¥याउने बताएकी छन् ।

बाँके निवासी राणाले यहाँको नौबस्तामा बनाउन थालिएको औद्योगिक क्षेत्रको छिटो निर्माण र कैलाशलगायत जाने पर्यटकको लागि करिडोर बनाउन सके यहाँको विकास हुने बताइन् । ‘म आौद्योगिक क्षेत्र र पर्यटनको करिडोर बनाउन लाग्नेछु, तपाईहरुले साथ दिनु पर्छ, अध्यक्ष राणाले भनिन् ।

मध्य र सुदूरपश्चिमको प्रमुख केन्द्र भएर पनि प्रदेश राजधानी बन्न नसकेको नेपालगञ्जबाट पूर्वाधारहरु जान दिन नहुनेमा राणाको जोड थियो । ‘राजधानी नभएपनि नेपालगञ्जको विकास हुन्छ, यहाँबाट पूर्वाधारहरु अन्यत्र जान दिनु हुँदैन, त्यसका लागि राजनीतिक दलदेखि सबैको एकमत हुनुपर्छ, मैले पनि त्यसमा साथ दिन्छु, राणाले भनिन् । अध्यक्ष राणाले बोर्डरमा अझ बढी लगानी भित्र्याउने योजना रहेको बताइन् । नीतिगत सुधार, वित्तिय क्षेत्र सुधार, पर्यटनका पूर्वाधार, कृषिका लागि नीति बनाएर अघि बढ्दा विकासले फड्को मार्ने राणाको भनाई थियो।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्