उपत्यकाका २ सय ४० विद्यालयमा शुद्धिकरण गरिएको पानी

काठमाडौँ- काठमाडौँ उपत्यकाको करिब २४० वटा सामुदायिक विद्यालयमा शुद्धिकरण गरिएको पानी मात्र पिउने गरिएको छ।

काठमाडौँ महानगरपालिकाले मंगलबार आयोजना गरेको कार्यक्रममा २४० वटा विद्यालयका एक लाख ६० हजार विद्यार्थी दैनिक लाभान्वित हुने गरेको जानकारी दिइएको हो।

स्ल्पास इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा शुरु गरिएको उक्त कार्यक्रमबाट कामपाका ६४ वटा विद्यालयमा यस किसिमको व्यवस्था गरी पानी शुद्धिकरण गरी प्रयोग गर्न थालिएको कामपाका सामाजिक विकास विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए।

यस विधिमा जमिनमुनि भएको पानीलाई निकालेर शुद्धीकरण गरिन्छ। पानीमा भएका गुणमध्ये मानव स्वास्थ्यमा हानी पुर्‍याउने जैविक र रसायनिक तत्व हटाउने विधिबाट पानीलाई शुद्ध बनाएपछि हात धुने तथा पिउने प्रयोगमा ल्याइने संस्थाका प्रबन्धक सिर्जना देवकोटाले बताए।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्