नरभक्षी बाघ नियन्त्रणमा, चितवन निकुञ्ज ल्याइँदै

फाइल तस्बिर

चितवन- मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ।

साँझ ६:१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताए।

टोलीले खोरमा राखेर बाघलाई चितवन ल्याउँदै गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

उक्त बाघलाई निकुञ्जको पुर्वी सेक्टर कार्यालय सौराहामा राखिने र बुधबार मुख्य कार्यालय कसरामा पठाइने जनाइको छ। उक्त बाघ करिब चार÷पाँच वर्षको भाले रहेको अर्यालले बताए।


चितवन र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले आज साँझ पुरानो प्रतापपुर क्षेत्रबाट नियन्त्रणमा लिईएको नरभक्षी बाघ। मकवानपुरको प्रतापपुर क्षेत्रमा मान्छे मारेको उक्त बाघलाई खोरमा राखेर चितवन ल्याईएको छ। तस्वीर सौजन्य- पुरुषोत्तम पाण्डे

मकवानपुरको मनहरि गाउँपालिका ७ रमौली प्रतापपुरमा उक्त बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए।

त्यसलगत्तै चितवन र पर्साबाट पशु चिकित्सक, प्राविधिक, स्थानीय मध्यवर्तीका प्रतिनिधि र नेपाली सेनासहित ५० जनाको टोली डाटगनसहित बाघ नियन्त्रणका लागि खटिएको थियो। त्यस्तै बाघ नियन्त्रणका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको चार हात्तीसमेत परिचालन गरिएको थियो।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्