एसियन कप छनौट : नेपाल भर्सेस यमन

यमनसँग हार्‍यो, नेपालले क्रम तोड्न सकेन

काठमाडौं – महादेशीय फुटबल प्रतियोगिता, एसियन कप २०१९ को छनौट चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । नेपालको छनौट हुने सम्भावना यसअघि नै सकिएको किएको थियो ।

तर मंगलबार रातिको अन्तिम खेलमा जित निकाल्दै छनौट चरणमा जित बिहीन नहुने मौका नेपाली टोलीसँग थियो । तर कतारको दोहामा रहेको सुहेम बिन हमिद रंगशालमा मंगलबार राति भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो ।

२४ औँ मिनेटमा अब्दुलेवासिया अल मातारीले गोल गर्दै यमनलाई सुरुवाति अग्रता दिलाए । तर नेपालका लागि नवयुग श्रेष्ठले पहिलो हाफमै बराबरी गोल फर्काए । तर खेलको अन्तिम समयमा नेपालका विराज महर्जनले डिक्स एरियामा फउल गरेका कारण यमनले पेनाल्टी पायो ।

त्यसमा मातारीले नै गोल गरेर यमनलाई २–१ को जित दिलाए । जितसँगै यमन समूह ‘एफ’ को उपविजेताको रुपमा एसियन कप फुटबलमा स्थान बनाउन सफल भएको छ ।

यसअघि मंगलबार नै भएको खेलमा ताजिकिस्तानलाई २–१ ले हराएको फिलिपिन्स समूह विजेता बन्दै छनौट भयो । उसको १२ अंक भयो । यो समूहबाट नेपालसहित ताजिकिस्तान बाहिरिएका छन् ।

नेपालले यसअघि खेलेका पाँच खेलमा दुई खेलमा बराबरी गरेको थियो भने बाँकी तीन खेलमा हारेको थियो । यमनसँगको हारसँगै प्रतियोगिताका ६ खेलमा एक जित पनि निकाल्न सकेन नेपालले ।

विगत


नेपालले अहिलेसम्म यमनलाई हराउन सकेको छैन । मंगलबार रातिको खेलमा हराउने अवसर थियो तर त्यो पनि पूरा गर्न सकेन ।

नेपालले एसियन कप २०१९ को छनौटमा गएको वर्ष घरेलु मैदान हलचौकमा भएको खेलमा यमनसँग गोल रहित बराबरी खेलेको थियो ।

यहि खेलबाट नेपालले प्रतियोगितामा पहिलो अंक जोडेको हो । यमनसँगको खेलमा गएको वर्ष बराबरी गरे पनि त्यसअघिको नतिजा भने नेपालको पक्षमा थिएन ।

२०१८ अघि सन् २००० मा भएको एसियन कपको छनौटमा नेपाल यमनसँग ३–० तथा चार वर्षअघि दोहामै भएको मैत्रीपूर्ण खेलमा २–० ले हारेको थियो ।

नेपालका लागि झण्डै डेढ वर्षदेखि कायम रहेको जितको अभाव टार्ने मौकाको रुपमा यमनसँगको खेल रहेको थियो । तर त्यो पूरा भएन ।

नेपाली टोलीले अन्तिम पटक सन् २०१६ को नोभेम्बरमा सोलिडारिटी कप फुटबलमा मकाउलाई १–० ले हराएको थियो । त्यस यताका खेलमा कि त बराबरी गरेको छ कि त हारेको छ ।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्