अर्जेन्टिनाले बेहोर्‍यो स्पेनसँग लज्जास्पद हार

विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिना मैत्रीपूर्ण खेलमा स्पेनसँग नराम्रोसँग पराजित भएको छ ।

चोटका कारण स्टार स्ट्राइकर लियोनल मेस्सी बिना मंगलबार राति मैदानमा उत्रिएको अर्जेन्टिना स्पेनसँग ६–१ ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा सन् २०१४ को विश्वकपको फाइनलिस्ट अर्जेन्टिनामाथि शानदार जित दर्ता गर्ने क्रममा स्पेनका इस्कोले ह्याट्रिक गरे ।

यस्तै डिएगो कोस्टा, थिएगो एलकान्तारा र इएगो एस्पासले एक एक गोल गरे । अर्जेन्टिनाका लागि निकोलास ओटामेन्डीले एक गोल फर्काए ।

१२ औँ मिनेटमा कोस्टाको गोलबाट स्पेनले सुरुवाति अग्रता लियो । इस्कोले २७ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ३९ औँ मिनेटमा ओटामेन्डीले अर्जेन्टिनाका लागि १ गोल फर्काएपछि पहिलो हाफमा २–१ को अग्रता स्पेनले लियो ।

दोस्रो हाफमा स्पेनले थप चार गोल गर्‍यो । ५२ औँ मिनेटमा इस्कोले व्यक्तिगत दोस्रो तथा ५५ औँ मिनेटमा एलकान्ताराले गोल गरेपछि स्पेनको अग्रता ४–१ को भयो ।

७३ औँ मिनेटमा एस्पासले गोल गरे भने त्यसको एक मिनेटपछि इस्कोले ह्याट्रिक पूरा गरे र स्पेन ६–१ ले विजयी भयो । सन् २०१० मा विश्वकप जितेको स्पेन पछिल्ला १८ खेलमा अपराजित छ ।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्