नेपालको नसुध्रिएको कमजोरी, जहिले पेनाल्टीमा गोल खान्छ : प्रशिक्षक कोजी

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले जितको स्वाद लिन नपाएको डेढ वर्ष नाघेको छ ।

महादेशीय फुटबल प्रतियोगिता एसियन कप फुटबल २०१९ को छनौट चरण अन्तर्गतको अन्तिम खेलमा मंगलबार राति नेपालले त्यो जितको खडेरी टार्ने मौका थियो । तर त्यसमा पनि चुक्यो र यमनसँग २–१ ले पराजित भयो ।

दोहामा भएको खेलमा यमनसँग हारेसँगै छनौटको सम्भावना यसअघि नै सकिएको नेपालले प्रतियोगिताका ६ खेलमा जित बिहीन रहन बाध्य भयो । मात्रै दुई खेलमा बराबरी गरेको नेपाल चार खेलमा पराजित भयो र समूहको पुछारमा रह्यो ।

नेपालका प्रशिक्षक ग्योतुकु कोजीले यमनसँगको खेलपछि आफू नतिजाबाट सन्तुष्ट नरहे पनि आफ्ना खेलाडीको प्रदर्शनबाट भने निराश नरहेको बताएका छन् ।

खेलपछि भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक कोजीले भने,

‘पहिलो कुरा त म यमनलाई जित तथा एसियन कपका लागि छनौट भएकोमा बधाइ दिन चाहन्छु । खेल निकै प्रतिस्पर्धात्मक थियो । हाम्रा खेलाडीले खराब खेलेनन् । तर राम्रो वा उत्कृष्ट पनि थिएन ।’

खेलका लागि मात्रै तीन दिनको यतारी हुनु खराब नतिजाको कारण रहेको उनले बताए ।

उनले भने,

‘यमनले तीन महिनादेखि तयारी गरेको सुनेका थियौँ तर हामीले त मात्रै तीन दिनको तयारी गर्न पायौँ । हामीले अवसर बनायौँ तर गोल गर्न सकेनौँ । मलाई थाहा छैन के हो, तर हाम्रो टिमको जहिले पनि एउटै कमजोरी रहने गरेको छ, हामी पेनाल्टीमा गोल खान्छौँ । मैले खेलाडीलाई जहिले भन्ने गर्छु कि फउल नगर तर त्यो रोकिएको छैन ।’

यमन नेपालको तुलनामा सबै पक्षबाट बलियो रहेको उनले बताए । अन्तर्राष्ट्रिय स्तरमा मैत्रीपूर्ण खेल खेल्न नपाउनु वा नहुनु पनि नेपाली टिमका लागि दुःखको कुरा रहेको बताएका प्रशिक्षक कोजीले बताए ।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्