उत्तर कोरिया–चीन सम्बन्ध

रेल चढेर किम जोङ–उन चीन गएको पुष्टि, महत्वपूर्ण वार्ता भएको दाबी

उत्तर कोरियाका नेता किम जोङ –उन एक विशेष रेल चढेर चीन भ्रमणमा गएको उत्तर कोरिया र चीनले पुष्टि गरेका छन् । केही दिनदेखि नेता किम विशेष रेल मार्फत बेइजिङ गएको खबर आएका थिए तर त्यसको पुष्टि हुन सकेको थिएन ।

यो हप्ता किमका बुवाले प्रयोग गरेकै रेलमा उच्च अधिकारी बेइजिङ पुगेको खबर सार्वजनिक भएको थियो र त्यसमा नेता किम नै रहेको बताइएको थियो । तर दुवै देशले यसको पुष्टि गरेका थिएनन् ।

अहिले आएर भने चीन र उत्तर कोरिया दुवैले यसको पुष्टि गरेका हुन् । यो नेता किमले सन् २०११ मा सत्ता सम्हालेदेखिको जानकारीमा आएको पहिलो विदेश भ्रमण हो ।

बेइजिङमा नेता किमले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको चीनको सकारी समाचार संस्था सिनह्वाले जनाएको छ । दुई नेताबिचको वार्ता सफल रहेको सिनह्वाले उल्लेख गरेको छ ।

भ्रमणले चीनसँगको उत्तर कोरियाको सम्बन्धमा थप सुधार ल्याएको विश्लेषण गरिएको छ । चीनलाई उत्तर कोरियाको एक मात्रै सहयोगी देशको रुपमा लिने गरिएको छ । तर उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण सम्बन्धमा केही उतारचढाव भने आएको थियो ।

किम र सी बिचको भेटमा उत्तर कोरियाका नेता किमले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तथा दक्षिण कोरियाका नेतासँग आउँदो मेमा गर्ने भनेको भेटवार्ताको तयारीको रुपमा हेरिएको छ ।

विश्लेषकले यसअघि नै अमेरिका र दक्षिण कोरियासँगको वार्ता अघि किमले चीनसँग परामर्श लिने दाबी गरेका थिए ।

अनौपचारिक भेटवार्तामा किमले चिनियाँ राष्ट्रपति सीसँग आफू परमाणु हतियार मुक्त देश बनाउने कुरामा प्रतिबद्ध रहेको बताएको सिनह्वाले दाबी गरेको छ ।

उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढेको छ भने अमेरिकासँगको उसको सम्बन्ध पनि यहि कारणले खराब बनेको हो ।

उत्तर कोरियासको समाचार संस्था केसिएनएले भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा कोशेढुंगा बन्ने बताएको छ । चिनियाँ राष्ट्रपति सीलाई किमले उत्तर कोरिया भ्रमणको निम्तो दिएको र उनले त्यो स्वीकार गरेको पनि केसिएनएले दाबी गरेको छ ।

नेता किम गएको आइतबारदेखि बुधबारसम्म चीनमा रहेको खबरमा उल्लेख गरिएको छ । उनी श्रीमती सि शोल जु सँगै चीन गएका थिए ।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्