प्रदेश नं. १ : प्रदेशसभा बैठक बस्दै, आर्थिक विधेयक पेश हुने

विराटनगर – प्रदेश नम्बर १ को प्रदेशसभा बैठक बुधबार बस्दैछ । बैठकमा आर्थिक विधेयक पेश हुने कार्यक्रम रहेको छ । प्रदेश सरकारले चैत्र २० गतेभित्र चालु आर्थिक वर्षको बाँकी तीन महिनाको बजेट ल्याउनका लागि संसदमा विधेयक पेश गर्न लागेको हो ।

आर्थिक मामिला मन्त्री इन्द्र आंग्बोका अनुसार, सञ्चित कोष गठनका लागि आर्थिक कार्यविधि नियमित र व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनाइएको विधेयक प्रस्तुत हुन लागेको हो । सरकारले बजेट ल्याउनु पूर्व सञ्चित कोषको स्थापना हुनुपर्दछ ।

यसअघि गएको चैत्र ८ गते बसेको संसद बैठकमा पारित भएको प्रदेशसभा नियमावलीको परिच्छेद १५ को नियम ९४ अनुसार आर्थिक मामिला मन्त्रालयले प्रदेशसभामा उक्त विधेयक पेश गर्न लागेको हो । उक्त विधेयक यसअघि नै संसद सचिवालयले प्रदेशसभा सदस्यलाई उपलब्ध गराइसकेको छ ।

त्यसैगरी संसद सचिवालयका अनुसार बैठक शून्य समयबाट अघि बढ्नेछ । जहाँ प्रदेशसभा सदस्यले समसामयिक विषयमा तीन मिनेटको समयमा आफ्नो भनाई राख्न सक्ने छन् ।

प्रदेशसभा बैठकमा पहिलोपटक शून्य समयलाई अपनाइन लागिएको सचिवालयले जनाएको छ । जसका लागि मंगलबार कार्य व्यवस्था परामर्श समितिको बैठक समेत बसिसकेको छ ।

शून्य समयमा उठेका कुरालाई मन्त्रीहरुले सम्बोधन गर्नुपर्ने हुन्छ । यसपछि मात्र संसद बैठकले नियमति कार्यमा प्रवेश पाउने सचिवालयले जनाएको छ ।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्