दाङ – पिताम्वर थापालाई बाघ, हात्ती, गैडा लगायत ठूला जनावर मारे कानुन लाग्छ भन्ने थाहा थियो तर, ढुक्कुर, चखेवा, परेवा जस्ता साना चरा चुरुङ्गी मार्दा पनि कानुन लाग्छ भन्ने बल्ल थाहा पाए ।

त्यतीमात्रै होइन यस्ता जनावर तथा चरा चुरिङ्गीलाई एक ठाउँबाट ओसारेर अर्काे ठाउँमा पु¥याउँदा पनि कानुनी कारवाही हुन्छ भन्ने भर्खरै जानकारी पाएको बताए ।

‘चरा मार्दा पनि केस लाग्छ भन्ने यस अघि थाहा थिएन’ उनले भने ‘कानुन कडा रहेछ, अब जंगली जनावरको मासु खानेसम्म कल्पना गर्न सकिँदैन, प्रहरी र वन कार्यालयले पकडे भने जीवन नास हुने रहेछ ।’ कानुमा सुराक लगाएर पक्राउ गर्नेलाई समेत पुरस्कारको व्यवस्था छ ।

लुकीछिपी गरिने वन्यजन्तुको तस्करी रोक्न सरकारले कडा कानुन बनाएको छ । यही कानुनको बारेमा जानकारी तल्लो तहसम्म पु¥याउन थालिएको हो । जसले गर्दा सर्वसाधारण नागरिकसहित यातायताकर्मी, होटल व्यवसायी सचेत भएका छन् ।

वन्यजन्तुको अवैध कारोबारमा संलग्न हुनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाही हुने बाँके राष्ट्रिय निकुञ्चका प्रमोदकुमार यादवले जानकारी दिए । ‘संरक्षीत पशुपक्षीलाई मारेमा, घाइते बनाएमा, ओसार पसार गरेमा त्यसमा संलग्नलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था छ’ उनले भने ‘यस्तो कार्यमा संलग्नहरु कानुनबाट उम्कन पाउँदैनन् ।’

गैँडा, बाघ, हात्ती, कस्तुरी, मृग, ध्वांसे, चितुवा, हिउँ चितुवा, वा गौरी गाईलाई मार्ने, घाइते बनाउने तथा बिक्रीवितरण गर्नेलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्ष कैद वा दुवै सजाय हुने कानुनमा उल्लेख छ । यस्तै अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई पनि कडा कारवाही हुन्छ ।

देउखुरीको राप्तीपारीका सामुदायीक वनमा चोरी शिकारी नियन्त्रण गर्न दस्ता नै खटिएको छ । वन तथा वातावरण संरक्षण समन्वय समितिको अगुवाईमा १६ वटा सामुदायीक वनमा चोरी शिकारी नियन्त्रण दल गठन गरिएको छ । विशेषगरी चन्दनपुर र सालझुण्डी सामुदायीक वनमा जिपिएस र क्यामरासहितका ११/११ जना सदस्यीय तालिम प्राप्त टोली खटिएको समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तले बताए ।

‘यो टोलीले स्थलगत अवलोकन गर्ने र सम्बन्धित निकायमा खबर पुर्‍याउने काम गर्छन्’ उनले भने ‘वन क्षेत्र बढ्दा जंगली जनावरको संख्या बढ्न थालेको छ, वन्यजन्तुको संख्या बढेसँगै चोरी शिकारी बढेकाले यस्तो अभियान थालेका हौं ।’

तराई भू–परिधि हरियो वन कार्यक्रम अन्र्तगत वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाले आयोजना गरेको वन्यजन्तुको अवैध व्यापारको संवेदनशिलताको विषयमा यातायात व्यवसायीसँग छलफल पनि गरिएको छ ।

समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमोद बाँके राष्ट्रिय निकुञ्जका प्रमोदकुमार यादव, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत खिमबहादुर केसीले कानुनी कुराको बारेमा जानकारी दिए । यस अघि होटल व्यवसायीसँग छलफल गरिएको थियो ।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्