खालीसिसी डट कमकी योजनाकारको कथा

जो आइएनजिओको जागिर छाडेर कबाडी संकलक बनिन्

आयुषी केसी।

काठमाडौं- खालीसिसी डट कम, ‘फलाम बोतल कापी’ भन्दै शहर बस्तीका गल्तीमा हिँड्ने संकलकहरुको डिजिटल स्वरुप। यो पुरानो समस्या अनि पुरानै व्यवसायको नयाँ स्वरुपमा सुरुवात गर्ने आयुषी केसी।

काठमाडौंमा हुर्के-बढेर व्यवस्थापन अध्ययन गरी आयुषीले शिक्षा लिइन्, व्यवस्थापनमा स्नातकसम्मको। त्यसपछि जागिर सुरु भयो, आइएनजीओको। तर, उनको मन भने आफ्नै व्यवसाय गर्ने थियो। केही वर्ष जागिर गरेकी आयुषीले १० महिनाअघि आँट गरिन् अनि सुरु गरिन् आफ्नो व्यवसाय, खालीसिसी डट कमका रुपमा। गरिरहेको जागिरमा उनको मन बसेको थिएन। तर अहिले उनको मन फोहोरमा आएर अडिएको छ।

काठमाडौं विशालनगरकी २८ वर्षे आयुषी राम्रै पद र आम्दानी भएको गैरसरकारी संस्थाको जागिर छोडेर अहिले ‘फलाम, बोतल, कापी!’ भन्दै हिँड्ने कवाडी संकलक (खाली सिसी दाइहरु) को संगतमा छिन्। यो संगतले उनलाई आफूले यसअघि गरिरहेको मासिक रुपमा राम्रो तलब आउने जागिरले भन्दा बढी सन्तोष दिएको छ।

त्यसको पछिल्लो कडी बनेको अमेरिकाको बिजनेस म्याग्जिन फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्ने ‘३० अण्डर ३०’ को सूची। यो सूचीमा यस वर्ष आयुषी पनि परेकी छन्। फोहोरलाई एनजीओ वा मागी खाने भाँडो नभई व्यवसाय आधार बनाएकी आयुषी अहिले विश्वका त्यस्ता युवा जो अरुलाई पनि प्रभावित पार्न सक्छन्, यस्तो सूचीमा समेटिएकी छन्।

उनले भनिन्, ‘यो सूचीमा पर्नु अन्तर्राष्ट्रिय स्तरमा हाम्रो कामको पहिचान हुनु हो। निकै खुशी छु।’ यसअघि उनले सुरु गरेको खालीसिसीको कथालाई गुगलले उत्कृष्ट १० भित्र राखेको थियो।

१० महिनामा गुगलदेखि फोर्ब्ससम्म पुग्न सफल भएकी आयुषीलाई अहिले आएर यो व्यवसायलाई अबचाहिँ स्थापित गर्न सकिन्छ कि भन्ने आश लागेको छ।

फोर्ब्सको सूचीमा परेपछि परिवारका सदस्यको प्रतिक्रिया पनि राम्रो छ। उनले भनिन्, ‘पहिले पत्याउनु भएको थिएन। अहिले सबैले नपत्याउने खोलाले बगायो भन्नु भएको छ। खुशी लाग्दो रहेछ।’

खालीसिसी डट कमको सुरुवात

व्यवस्थापन पढेकाले आयुषीको रुचि स्वभाविक रुपमा व्यवसायमै तानिइरहन्थ्यो। तर, राम्रो अवसर र तलब पनि राम्रै पाएपछि गैरसरकारी संस्थाको जागिरमा उनी जोडिइन्। काम राम्रै चलेको थियो। घर परिवारमा पनि छोरीले राम्रो गरिरहेकी छ भनेर सन्तोष। तर उनको मन भने जागिरमा त्यति राम्रोसँग बसेको थिएन।

उनलाई जागिरभन्दा पनि आफ्नै व्यवसाय सुरु गर्ने मन थियो। व्यवसाय त गर्ने तर नयाँ खालको, उनको मनमा आइरहने विचार। यही क्रममा उनले अध्ययन गर्दै जाँदा कवाडी अर्थात फोहोरसँग सम्बन्धित व्यवसाय गर्न सकिने सम्भावना बलियो देखिन्।

आँटले बाटो बनाउने रहेछ। आयुषीका लागि पनि त्यस्तै भयो। उनले काठमाडौंका गल्ली गल्लीमा फलाम, बोतल, कापी भन्दै हिँड्ने कवाडी संकलकसँग आफ्नो योजना सुनाइन्। ‘सुरुमा त खालीसिसी दाइहरुले पत्यार नै गर्नु भएन। एक्लो महिला देखेर होला। तर उहाँहरुलाई कन्भिन्स गरेँ,’ उनले भनिन्, ‘मेरो योजना नबुझे पनि उहाँहरु आम्दानी बुझ्नुहुँदो रहेछ, काम बुझ्नुहुँदो रहेछ। त्यसपछि खालीसिसी डट कम सुरु गरेको हो।’

कसरी गर्छ काम?
१० चार महिनाअघि आयुषीको पहलमा सुरु भएको खालीसिसी डट कम फोहोर अर्थात कवाडीको डिजिटल माध्यमबाट व्यवसाय गर्ने थलो हो। घर, कार्यालय, अस्पताल, अपार्टमेन्ट सहितका क्षेत्रबाट निस्कने फेरि प्रयोग गर्न मिल्ने वा नवीकरण गर्न सकिने फोहोरको कारोबार यहाँबाट गर्न सकिन्छ।

अहिले आफूहरु फोहोरलाई गफको माध्यम बनाउन स्कूलमा गएर आफूहरुको काम बुझाउने अभियान रहेको आयुषीले सुनाइन्। आफूहरुको सम्पर्कमा रहेका १ सय ५० खालीसिसी दाइहरु र विद्यार्थीबीच कुरा गराउने, फोहोरको व्यवस्थापनका बारेमा बुझाउने गरेको उनले जानकारी दिएकी छन्।

यस्तै आफूहरुले सुरुदेखि गर्दै आएको कमाइ पनि गरिरहेको उनले जानकारी दिइन्। उनले भनिन्, ‘हामीसँग खालीसिसी दाइहरु सम्पर्कमा हुनुहुन्छ। हामीलाई यो ठाउँमा यस्तो फोहोर छ भनेर जानकारी दिएमा दाइहरु त्यहाँ पुग्नु हुन्छ। त्यसको मूल्य तिरेर उहाँहरुले ल्याउनु हुन्छ। हामीले त्यो कवाडी किन्ने व्यवसायीको व्यवस्था गरेका हुन्छौं। खालीसिसी दाइहरुले त्यो त्यहाँ लैजानु हुन्छ।’

यसको अर्थ आयुषीले अहिले फोहोरवाला वा कबाडी सामान रहेका व्यक्ति, कबाडी संकलक तथा कबाडी क्रेताबीच सम्बन्ध कायम गर्ने काम गर्दै आएकी छन्। ‘झट्ट बुझ्दा यो कबाडी एजेन्ट जस्तो लाग्छ। तर यो व्यवसाय यतिमा मात्र सीमित छैन।’

आयुषीले स्पष्ट पार्दै भनिन्, ‘हामीले एजेन्टको काम गरेका छौं। तर त्योभन्दा ठूलो कुरा कबाडी संकलनलाई एक पेशाको रुपमा स्थापित गर्ने प्रयासमा हाम्रो पहल बलियो बनेको।’

आफूसँग भएको कबाडी समान बेच्न चाहने बजार भाउ अनुसार मूल्य पाउने र यदि होइन म डोनेसन गर्न चाहन्छु भन्नेले डोनेसन पनि दिन सक्ने आयुषीको भनाइ छ। तर यो डोनेसन पैसाको भने होइन, फोहोरको हो। अर्थात आफूसँग भएको फोहोर पैसा नलिई दिनु डोनेसन भएको उनले बताइन्। आफूसँग भएको फोहोरका बारेमा वेबसाइट, टेलिफोन, भाइबर, फेसबुकसहितका माध्यमबाट जानकारी दिन सकिने आयुषीले बताइन्।

कबाडी नै किन?
बन्दै गरेका तथा पुराना सबै शहरको साझा समस्या फोहोर। तर, यसलाई अवसरको रुपमा लिन सकिन्छ भन्ने लागेर आफू यो व्यवसायमा लागेको आयुषीको भनाइ छ। काठमाडौंमा अहिले एक दिनमा पाँच लाख किलो फोहोर उत्पादन हुने गरेको छ।

काठमाडौंमा उत्पन्न हुने फोहोर मध्ये वार्षिक रुपमा पुनः प्रयोग गर्न मिल्ने ७० प्रतिशत भन्दा बढी फोहोर ल्याण्डफिल्ड साइडमा पुग्ने गरेको छ। यसलाई त्यहाँ पुग्न रोकेमा फोहोरको उत्पादन कम गर्न सकिने र वातावरणमा पनि सकारात्मक प्रभाव पर्ने देखिएकाले आफूहरु यसमै लागेको उनले सुनाइन्।

अहिले फेरि प्रयोग गर्न सकिने कागजजन्य, सिसाजन्य, कम्युटरसहितका पाट्स, फलामका टुक्राटाक्री, प्लाष्टिकका बोतलसहितका फोहोर पनि डम्पिङ साइटमा जाने गरेको छ।

‘सुन्दा फोहोर नराम्रो सुनिएला, तर यसमा राम्रो सम्भावना छ। यसलाई उद्योगकै रुपमा विकास गर्न सकिन्छ’ आयुषीले भनिन्, ‘पहिले त्यति नबुझ्नु भएका खालीसिसी दाइहरुले पनि अहिले बुझ्नु भएको छ। फोहोर भएका ठाउँबाट पनि हामीलाई सम्पर्क गर्न थालेका छन्।’

धेरैले फोहोर सम्बन्धि त गैरसरकारी संस्था नै खोलेको भए हुने भन्ने गरेका छन्। तर उनलाई यसमा व्यवसाय नै गर्ने मन थियो। यहि भएर उनले व्यवसाय दर्ता गरेकी छन्।

काम गर्न आँट चाहिने उनले बताइन्। ‘आइडिया सबैसँग हुन्छ। बस चाहिन्छ आँट। आँट गर्न डराएन भने काम गर्न असजिलो छैन,’ आयुषीले भनिन्।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्