किमलाई भेट्न उत्सुक ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेट्नका लागि उत्सुक रहेको बताएका छन् । किमको चीन भ्रमण उत्कष्ट रहेको खबर आएपछि ट्रम्पले आफू किमसँग भेट्नका लागि उत्सुक रहेको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबिच आउँदो मेमा भेटवार्ता हुने जनाइएको छ । तर वार्ता भए पनि उत्तर कोरियामाथि लगाईंदै आएको कडा प्रतिबन्धमा भने कुनै फेरबल नहुने ट्रम्पले बताएका छन् ।
ट्रम्पले कोरियाली प्रायद्विपलाई परमाणु हतियार मुक्त बनाउने सम्भावना अब केही सकारात्मक देखिएको पनि ट्रम्पले बताएका छन् । चीनका राष्ट्रपति सी जिनपिङसँग किमको भेटपछि ट्रम्पको यस्तो भनाई आएको हो ।
सन् २०११ मा सत्ता सम्हालेदेखि पहिलो पटक जानकारी आएको विदेश भ्रमणको रुपमा किम चीन गएका हुन् । यसको पुष्टि उत्तर कोरिया र चीन दुवैले बुधबार गरेका थिए ।
Received message last night from XI JINPING of China that his meeting with KIM JONG UN went very well and that KIM looks forward to his meeting with me. In the meantime, and unfortunately, maximum sanctions and pressure must be maintained at all cost!
— Donald J. Trump (@realDonaldTrump) March 28, 2018
किम श्रीमती तथा अरु सरकारी अधिकारीसहित चीन गएका थिए । त्यहाँ उनलाई गार्ड अफ अनर दिइएको थियो । किमले चिनियाँ राष्ट्रपति सीसँगको भेटमा आफू परमाणु हतियारमुक्त बनाउन प्रतिबद्ध रहेको बताएको जनाइएको छ ।
चीनलाई उत्तर कोरियाको एकमात्र सहयोगीको रुपमा लिने गरिएको छ । किम र सीको भेटसम्बन्धी खबर आएपछि ट्रम्पले ट्वीट गर्दै यो सकारात्मक रहेको बताएका हुन् ।