कर्णाली प्रदेशको बैठक बस्दै, आर्थिक विधेयक पेश हुने

सुर्खेत – झण्डै एक महिनाको अन्तरालमा कर्णाली प्रदेशसभाको बैठक शुक्रबार बस्दैछ । ‘बिजनेस’ नपाउँदा गत फागुन १५ गतेदेखि स्थगन भएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो ।

कर्णाली प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा आर्थिक विधेयक पेश गर्ने कार्यसूचि छ । सभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विधेयक पेश गर्ने छन् । कार्यसूधिअनुसार विधेयकमाथिको छलफल, सुझाव र संशोधनका लागि प्रदेशसभा सदस्यलाई ७२ घण्टा दिइने छ ।

सदस्यको राय, सल्लाह र सुझावअनुसार संशोधन गरी अर्काे सभाबाट कानुनका रुपमा आर्थिक विधेयक लागु हुनेछ ।
शुक्रबारको बैठकले कार्य व्यवस्था परामर्श समितिलाई पूर्णता दिने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव राजेश पौडेलले बताए ।

समितिमा प्रदेश सभामुखको अध्यक्षतामा उपसभामुख र कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । समितिमा प्रदेशसभामा प्रतिनीधित्व हुने दलहरुको आधारमा आठजना सदस्य रहने छन् ।

यस्तै बैठकमा कर्णाली प्रदेशसभा नियमावली २०७४ समेत संसदमा पेश हुनेछ । प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित समितिले मस्यौदा प्रतिवेदन तयार गरिसकेको छ ।

प्रदेश सरकारले बनाउने पहिलो ऐनका रुपमा आर्थिक कार्यविधि संसद सचिवालयमा दर्ता भएकाले ऐतिहासिक विषयबस्तुको छलफलमा अनिवार्य सबै सदस्यको उपस्थितिका लागि जानकारी दिइसकिएको उनले बताए ।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्