नेपालगञ्ज – बाँकेमा श्रीमानले श्रीमतीलाई बाह्रबोर बन्दुकले हानेर हत्या गरेका छन् । डुडुवा–३, वनकट्टीका सञ्जयकुमार बर्माले श्रीमती शान्ती देवीलाई सुतिरहेको बेला बन्दुकले हानेर हत्या गरेका हुन् ।

बिहीबार राति ११ बजे सञ्जयले श्रीमतीलाई घरमै रहेको बाह्रबोरले दुई राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । कोखा र दाहिने हातमा गोली लागेकी शान्तीको घटनास्थलमै मृत्यु भएको हो ।

बाह्रबोर सञ्जयकै नाममा लाइसेन्स लिएर राखिएको थियो । खाना खाएर सबै सुत्न गएपछि सञ्जयले खटियामा सुतिरहेकी श्रीमतीलाई गोली हानेका हुन् ।

‘एउटा खाटमा सञ्जय र छोरी थिए । अर्को खाटमा श्रीमती एक्लै सुतेकी थिइन्, कोठा एउटै थियो, सञ्जयले राति श्रीमतीलाई दुई गोली हाने’ घरपरिवारले भनेका छन् ।

सञ्जय मानसिक रोगी छन् । उनले नियमित औषधि खाइरहेका छन् । उनले सधैँ श्रीमतीमाथि शंका गरिरहन्थे । ‘श्रीमतीले आफूलाई छोडेर अर्कैसँग जान्छे की ?’ भन्ने शंका गरिरहने सञ्जयले बिहीबार हत्या नै गरिदिए ।

श्रीमतीको हत्यापछि सञ्जय भाग्न खोजेका थिए । दोस्रो तलामा घटना भएलगत्तै घरका अरु मान्छेले ढोका थुनेर उनलाई भाग्न दिएका थिएनन् । घरपरिवारले नजिकै रहेको प्रहरी चौकीमा खबर गरेपछि सञ्जयलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्