ट्रम्प विरुद्ध कानूनी लडाईंका लागि ७ घण्टामै जुट्यो ३ करोड १२ लाख

डोनाल्ड ट्रम्पको प्रशासनबाट बर्खास्त गरिएका संघीय जाँच आयोग (एफबिआई) का पूर्व उप–निर्देशक एण्ड्रियु म्याककाबे । तस्बिर : एपी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट बर्खास्त गरिएका संघीय जाँच आयोग (एफबिआई) का पूर्व उप–निर्देशक एण्ड्रियु म्याककाबेको कानूनी लडाईंमा सहयोग गर्नका लागि सहयोग जुट्न सुरु भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक रुपमा पक्षपाति भएको आरोप लागाएका म्याककाबेलाई महान्यायाधीवक्ता जेफ सेसन्सले दुई हप्ताअघि बर्खास्त गरेका थिए ।

तर म्याककाबेले आफू राष्ट्रपति चुनावमा भएको भनिएको रुसी दखल सम्बन्धी अनुसन्धानको महत्वपूर्ण साक्षी रहेकाले आफूलाई बर्खास्त गरिएको बताउँदै आएका छन् । उनले आफूलाई बर्खास्त गर्ने सम्बन्धी निर्णयको विरोधमा कानूनी उपचार खोज्ने बताएपछि उनको कानूनी लडाईंमा सहयोग जुटाउने अभियान सुरु भएको हो ।

सहयोग जुटाउने अभियान सुरु भएको सात घण्टामै ३ लाख अमेरिकी डलर जुटेको छ । गोफण्डमी पेजमा बिहीबार म्याककाबेको कानूनी लडाईंमा सहयोग गर्नका लागि १ लाख ५० हजार अमेरिकी डलर जम्मा गर्ने लक्ष्य रहेको भन्दै सूचना जारी गरिएको थियो ।

यो कानूनी लडाईं आफ्ना लागि भन्दा पनि चुनावमा रुसी दखल सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्न नदिनका लागि रहेको म्याककाबे तथा उनका सहयोगीले बताएका छन् ।

म्याककाबे सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रुसी दखल तथा हिलारी क्लिन्टनको इमेल सम्बन्धी अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् ।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्