उत्पादनअघि नै कृषिजन्य पदार्थको मूल्य निर्धारण गर्न सांसदको माग

काठमाडौँ- सांसदहरुले कृषिजन्य पदार्थको उत्पादनभन्दा पहिलै मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार संसदको विशेष समयमा बोल्दै सांसदहरुले एउटा निश्चित संयन्त्र बनाएर उत्पादनभन्दा पहिल्यै कृषिजन्य पदार्थको मूल्य निर्धारण गर्न माग गरेका हुन्। समयमै कृषिजन्य वस्तुको मूल्य निर्धारण नहुँदा किसान ठगिएको भन्दै उनीहरुले मूल्य निर्धारणका लागि स्थायी प्रकृतिको संयन्त्र नै खडा गर्न सुुझाव दिएका हुन्।

एमाले सांसद हृदयेश त्रिपाठीले समयमै मूल्य निर्धारण नहुँदा सबैभन्दा बढी मारमा उखु किसान परेकाले अब उत्पादन भन्दा पहिल्यै मूल्य तय हुुनुपर्ने बताए। उनले उखु किसानको ११ अर्ब रुपैयाँ बक्यौता चुक्ता गर्न सरकारले अग्रसरता देखाउन माग गरे।

त्यस्तै माओवादी केन्द्रका सांसद प्रशु शाहले पनि बक्यौता नपाउँदा उखु किसानको अवस्था दयनीय भएकाले उद्योगीलाई मूल्य तिराउन सरकारलाई कडाइका साथ प्रस्तुत हुन सुझाव दिए।

उनले बाढीबाट पीडित भएका तराईका किसानले आफ्नो उत्पादनको मूल्य नपाउँदा मर्कामा परेको उल्लेख गरे। सांसदहरु अनिल झा, विमल श्रीवास्तवले पनि उखु किसानको बक्यौता चुक्ता गराउन सरकारले नै अग्रसरता लिनुपर्ने धारणा राखे। उद्योगमन्त्री मातृका यादवले उखुको मूल्य चुक्ता गर्न उद्योगीलाई चेतावी दिए पनि अहिलेसम्म तिर्ने प्रतिबद्धता मात्र जनाएका छन्।

नेपालमा उखु खेतीको पर्याप्त संभावना हुँदा हुँदै पनि मूल्यकै कारण किसान दिनदिनै निरुत्साहित भएका छन्। नेपालमा वार्षिक दुई सय ३५ टन चिनी खपत हुने गरेकोमा विदेशबाट मात्र एक सय टन आयात हुँदै आएको छ।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्