कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्छ– सञ्चार राज्यमन्त्री

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्ने बताएका छन्।

नेपाल मोबाइल वितरक संघद्वारा शुक्रबार आयोजित प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले व्यापारीको लगानी सुनिश्चित गर्न र करमा देखिएको छली रोक्न सबै व्यापारी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

राज्यमन्त्री बाँस्कोटाले मोबाइल फोनले जीवन शैलीमा सहजता ल्याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमासमेत टेवा पुग्ने बताउँदै यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्ने विचार व्यक्त गरे।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले नेपालमा विभिन्‍न कम्पनीका करिब चार हजारको हाराहारीमा मोबाइलका मोडलको स्तर स्वीकृति भएको जानकारी दिँदै आइएमइआइ रजिष्टेसन गर्नुपर्ने बाध्यकारी नियम आएपछि करछलीबाट आएका मोबाइलमा केही कमी आएको बताए।

मोबाइल फोन इम्पोर्टर एशोसियनसनका अध्यक्ष दीपककुमार मल्होत्राले मोबाइलमा हुने कालोबजारीलाई रोक्न आफूहरू लागिपरेको भन्दै ग्राहकको चाहनाअनुरुप स्तरीय सेवा सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।

आयोजक संघका अध्यक्ष माधवप्रसाद रिजालले मोबाइलमा देखिएका विभिन्न किसिमको विकृतिलाई हटाउँदै जाने बताउँदै गुणस्तरहिन मोबाइल भित्रने क्रमलाई रोक्न राज्यले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले नेपाल मोबाइल वितरक संघ नामक स्मारिकाको विमोचनसमेत गरे। एक तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा रु २५ अर्ब बराबरको मोबाइल विक्री हुने गरेको छ।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्