‘मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद्’

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाको बारेमा लामो सयमसम्म सत्यतथ्य पत्ता लाग्न नसक्नु दु:खद भएको बताएकी छिन्।

मोरङको उर्लाबारी ३ स्थित मङ्गलबारेमा अवस्थित मदन भण्डारी संग्राहलयको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन्।

एमाले नेता मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा भएको निधनको घटनाले आफुलाई दुखित वनाएको र भण्डारीको योगदानको कदर स्वरुप चीरस्मरणका लागि संग्रहालय वनेको कुराले खुसी बताइन्।

मदन भण्डारीले मुलुकमा लोकतान्त्रिक परिवर्तनका लागि गर्नुभएको महत्वपूर्ण योगदानको कदर स्वरुप उहाँको नाममा संग्रहालय खडा हुनु सम्मानित काम भएको राष्ट्रपति भण्डारीको ठहर छ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा श्रव्यदृष्य सहितको विद्युतीय समेतको आधुनिक संग्रहालयले मदनको सामाजिक रुपान्तरणको अभियानलाई अरुले पनि वुझ्ने र समाज रुपान्तरण गर्न सघाउ पुर्याउने राष्ट्रपतिले बताइन्।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द अधिकारीले मदनको योगदानको उच्चमुल्यांकनका रुपमा संग्रहालय स्थापित भएकोप्रति खुसी व्यक्त गरे। दुइ विगाहा क्षेत्रफलमा अवस्थित संग्रहालयमा ३ तलामा गरी १६ वटा कक्ष रहेका छन्।

चैत १८ गतेदेखि सर्वसाधारणका लागि संग्रहालय खुला गरिने प्रतिष्ठानले जनाएको छ। सरकारी तथा प्रतिष्ठानको गरी ३ करोडमा लगानीमा १० वर्षको अवधिमा निर्माण सम्पन्न संग्रहालयले मदन भण्डारीको महत्व र योगदानलाई झल्काएको छ।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्