पत्रकारिताको सानो गोलीले संसार घाइते हुनसक्छ- मुख्यमन्त्री गुरुङ

कास्की- प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारिता भनेको सानो गोलीले पनि संसार घाइते बनाउने पेशा भएको बताएका छन्।  नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई पुरस्कार अर्पण समारोहमा बोल्दै उनले सामाजिक रुपान्तरण र विकासमा पत्रकार जगतको ठुलो भुमिका हुने भन्दै सधै सत्य तथ्य र निष्पक्ष भै पेशाको मर्यादा रहेर पत्रकारले काम गर्नु पर्ने बताए।

उनले भने, ‘पत्रकारको सानो गल्तीले पनि समाजमा नकारात्मकता उन्मुख बनाउँछ, पत्रकारिताको सानो गोलीले पनि संसार घाइते बनाउँछ।’

मुख्यमन्त्री गुरुङले संघीयता नयाँ ब्यवस्था भएकोले केही चुनौती भए पनि यसलाई बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताए। उनले दुर्घटना अनुभव लिने विषय नभएको भन्दै नयाँ राज्य व्‍यवस्थालाई दुर्घटना हुनबाट जोगाउन सबैले आआफ्नो तर्फबाट उत्तरदायित्व पूरा गर्नुपर्ने भनाइ राखे।

संघीयता जादुको छडी नभई उत्तम विकल्प मात्र भएको भन्दै सामाजिक सद्भाव कायम गर्दै समावेशीकरण मार्फत आर्थिक समृद्धि अबको लक्ष्य हुनुपर्ने बताए। उनले प्रदेशको अधिकारलाई केन्द्रले हस्तक्षप गर्न नहुनेमा जोड दिए। सांसद सूर्यबहादुर केसीले नेपाली जनतालाई जातिका नाममा जुधाएर ईयुले नेपालीमा जातीय द्वन्द्व ल्याउन खोजेको आरोप लगाए।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ। तस्बिर: जमुनाबर्षा शर्मा

नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसमा पत्रकार र विभिन्न समयमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्‍यो। कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७४ वाट प्रेस स्वतन्त्रता सेनानी एवम् अग्रज पत्रकार वद्रीविनोद प्रतीक सम्मानित भएका छ्न्। त्यसैगरी पोखरा पत्रकारिता सम्मानवाट महासंघले वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्सायन सम्मानित गरेको छ।

पोखरा पत्रकारिता संस्थागत सम्मानवाट पोखरा लेखनाथ महानगरपालिका कार्यालय सम्मानित भएको छ। त्यसैगरि जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३ वाट रुद्र श्रीसमगर र २०७४ बाट रन्जन अधिकारी क्षेत्रीलाई पुरस्कृत गरिएको छ। उनीहरुलाई दोसल्ला, माला, अबिर र नगद पुरस्कारले प्रदान, गरिएको हो।

त्यस्तै महासंघको जग्गा प्राप्ति, भवन निर्माण, अक्षयकोष वृद्धि र पूर्वाधार सम्पन्न वनाउन सहयोग पुर्याउने व्यक्तित्वहरु विश्वप्रकाश लामिछाने, सन्तोष घिमिरे, ललित गुरुङ, डा.चन्द्रवहादुर गुरुङ र ईन्जिनियर महेन्द्रवहादुर गोदारलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो।

चैत १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्